कोरोना भाइरसको महामारीका कारण लकडाउन भएपछि चैत्र तेश्रो साता काठमाडौं उपत्यकाबाट घर फर्किनेको लहर सुरु भयो । लामो समयसम्म पनि लकडाउन हुन सक्ने भएपछि काठमाडौं उपत्यकामा डेरा गरी बस्ने मजदुर, विद्यार्थी र साना व्यवसायीहरु रातदिन पैदल हिडेर घर फर्किन थाले । प्रशासनले गाडी गुड्न हैन, पैदल हिड्नसमेत रोक लगायो ।

मजदुरी गर्न पुर्व पुगेकाहरु प्रहरीको आँखा छल्दै रातारात हिडेर सुदुरपश्चिम पुगे, र पश्चिम पुगेकाहरु पनि हिडेरै पुर्व फर्किए । काम र माम दुवै गुमाएपछि उपत्यकामै अलपत्र मजदुरहरु समेत पैदलै गाउँ फर्किए । ती विषयले सञ्चारमाध्यममा राम्रै ठाउँ पाए । अन्ततः मन्त्री, सांसद र नेताहरुले आफ्नो क्षेत्रका मजदुरलाई घर पु¥याउन गाडी पठाउन थाले । मन्त्रीले नै लकडाउनकै बेला गाडी चढाउन थालेपछि स्थानीय तहका जनप्रतिनिधिले आफ्नो क्षेत्रका बासिन्दालाई गाउँ ओसार्न थाले ।

देशभरका विभिन्न स्थानीय तहले मान्छे ओसार्न थालेपछि इलामका स्थानीय तहमा पनि त्यसको चर्चा सुरु भयो । जिल्ला समन्वय समितिले तत्कालै जिल्लाबाहिर भएकालाई नल्याउने निर्णय ग¥यो । तर, रोङ गाउँपालिकाका अध्यक्ष शमसेर राई भने त्यो निर्णयबाट सन्तुष्ट थिएनन् । अरु स्थानीय तहले नल्याएपनि आफ्नो गाउँपालिकाका बासिन्दालाई अलपत्र हुन नदिने सोचेर अध्यक्ष राईले गाउँ ल्याएर क्वारेण्टाइनमा राख्ने सोच बनाए । र क्वारेण्टाइन व्यवस्थापनमा लागे ।

अलपत्र मजदुर र विद्यार्थीलाई गाउँ लगेर राख्ने तयारी गरेपछि उनी १५ बैशाखमा काठमाडौं आइपुगे । तर, अध्यक्ष राई आफैं काठमाडौं आएपनि सरकारले पुनः लकडाउनमा कडाई गरेपछि गाउँबासीलाई जिल्ला फर्काउन लैजान भने सकेनन् । अध्यक्ष राईसँग खुलापत्रले गरेको संवाद :-

लकडाउनका बेला गाउँपालिकाबासीलाई लिन आफैं काठमाडौं आउनुभयो । किन लैजान सक्नुभएन ?

– पहिले सबैले घर फर्काइरहेका थिए । हामी कहाँ अरु स्थानीय तहले नल्याउने भनेपछि अलि समय दोधारमै बित्यो । पछि काठमाडौंमा भएकाहरु सबै मजदुर र विद्यार्थी भएको र उनीहरुलाई धेरै नै समस्या परेको भनेपछि मन मानेनँ । र हामीले कार्यपालिकाबाट निर्णय गरेर गाउँपालिकाका दुई स्थानमा क्वारेण्टाइनमा राख्ने गरी उनीहरुलाई फर्काउने तयारी ग¥यौं । काठमाडौंमा १ सय २४ जना रोङ फर्किनेको सूची तयार भएको थियो ।

उनीहरुलाई तीन वटा बसमा राखेर लैजाने तयारी गरेका थियौं । स्वास्थ्य जाँचदेखि सबै कुरा तयार पारिएको थियो । मैले जिल्लाबाटै काठमाडौंका प्रजिअलाई पनि सोधेको थिएँ, उहाँले स्वीकृति दिनुभएको थियो । तर, अन्तिममा गृहले लैजान नपाउने निर्णय गरिदिएपछि कोटेश्वर आइपुगेकाहरुलाई कोठा फर्काउनुप¥यो । सरकारले अचानक र अव्यवहारिक रुपमा गर्ने निर्णयले हामीलाई समस्या पर्ने गर्छ ।

रोग नियन्त्रण गर्नुपर्ने अवस्था हो, तर परिस्थिति हेरेर सबैलाई उचित व्यवस्थापन गर्नुको विकल्प पनि थिएन । मैले गाउँबासीलाई लैजान नेकपाका वरिष्ठ नेता झलनाथ खनाल, सुवास नेम्वाङ देखि अरु नेता र सांसदहरुसम्म पनि कुरा गरेँ । तर उहाँहरुको पहलले पनि कुनै काम गरेनँ ।

काठमाडौंमा बस्ने रोङबासीहरुको अवस्था चाँहि खास कस्तो छ ?
–धेरै जना साथीहरु मजदुरी गर्न काठमाडौं आउनुभएको रहेछ । कतिपय चाँहि विद्यार्थी हुनुहुन्छ । गाउँबाट शहर पढ्न आउने भनेको कमाई गर्दै पढ्ने सोचले आएकाहरु धेरै हुन्छन् । पढ्दै आधा दिन गरेको कामले महिनाको खर्च र पढाई खर्च जुटाउनै मुस्किल पर्छ ।

अब यतिका दिन लकडाउन भएपछि ती विद्यार्थीलाई खान, बस्न समस्या हुने नै भयो । ज्यालादारी गरिखाने साथीहरुको पनि समस्या उही हो । यहाँ वडाबाट पनि कतिपयले राहत त पाउनुभएछ, तर त्यो पर्याप्त नभएको उहाँहरुको गुनासो छ । अफ्ठ्यारोमा प¥यौं भनेपछि म गाउँ लैजान आएको थिएँ, अब उहाँहरुलाई राहत दिएर फर्किदैछु ।

गाउँपालिकाको तर्फबाट चाँहि कसरी राहत वितरण गर्नुभयो त ?
–गाउँ जान तयार एक सय १४ जनामध्ये करिब ८७ जनाको अवस्था चाँहि साँच्चै नाजुक रहेछ । हामीले गाउँपालिकाको तर्फबाट चामल, दाल, नुन, तेल लगायत एक, डेढ हप्तालाई पुग्ने सामानहरु टोल टोलमै पु¥याइदिएका छौं । काठमाडौंमा रहेकाहरुलाई गाउँपालिकाले राहत वितरण गर्न कानुनले मिल्दैन । जो जहाँ छ, त्यहीका स्थानीय तहबाट राहत वितरण गर्ने गरीको कार्यविधि बनेको छ ।

त्यसैले यहाँ अलपत्र साथीहरुलाई मैले आफैं आइसकेपछि एक चरणको सहयोग गरेर बाँकी समयमा असहज भए सम्बन्धित वडा र नगरपालिकाबाटै राहतकालागि सम्पर्क गर्न आग्रह गरेको छु । उता गाउँपालिका क्षेत्रमा पनि हामीले महामारीबाट बचाउन कुनै कसुर बाँकी राखेका छैनौं । सबैखाले पुर्वतयारी र सचेतना फैलाउने काममा गाउँपालिका सक्रिय छ । सबै जनप्रतिनिधि साथीहरु खटिनुभएको छ ।

हामीले राहत वितरणमा आफ्नो ठूलो खर्च पनि गरेका छैनौं । र राहत पनि राम्ररी वितरण गरेका छौं । गाउँपालिकाले अहिलेसम्म करिब ८० जनालाई क्वारेण्टाइनमा राखेर घर पठाएको छ । लकडाउनका कारण समस्या परेका करिब ६ सय परिवारलाई अहिले राहत वितरण भइसकेको छ । यो चाँहि कसरी भने नेपाली कांग्रेस गाउँपालिका समितिले एक सय क्वीन्टल चामल दिएको छ ।

यस्तै, नेकपा रोङले पनि ५७ क्वीन्टल चामल उपलब्ध गराएको छ । हामीले विपद् व्यवस्थापन समितिमा २० लाख रुपैयाँ छुट्याएका थियौं । यो पर्याप्त हैन, तर कोरोना महामारी नियन्त्रणकालागि राजनीतिक दलहरुले उपलब्ध गराएको यो सहयोगले ठुलो मद्धत पु¥याएको छ । संघसंस्था, सहकारी र अन्य व्यक्तिहरुले पनि सहयोग गर्नुभएको छ । गाउँपालिका क्षेत्रमा कोही पनि भोकै बस्नुपर्दैन ।

कोरोनाका कारण गाउँपालिकाको विकासका कामहरु पनि प्रभावित भए नि ?
– यो बेला मुख्य काम भनेकै त्यही हुन्थ्यो । तर, हामीले विकासका काममा ध्यान पु¥याउनै पाएका छैनौं । अब चाँहि सामाजिक दुरी कायम गर्दै विकासका कामलाई अघि बढाउने तयारी गरेका छौं । आर्थिक वर्ष सकिन अब दुई महिनामात्रै बाँकी छ ।

तर, ५० प्रतिशतभन्दा बढी बजेट खर्च भएको छैन । त्यसैले अब चाँहि गाउँपालिका क्षेत्रलाई बाहिरी लकडाउन गरेर गाउँपालिका भित्रचाँहि सामाजिक दुरी कायम गर्दै विकासका कामलाई अघि बढाउने निर्णय गरेका छौं ।

गाउँपालिका अध्यक्ष निर्वाचित भएपछि के गर्नुभयो ? प्राथमिकताका क्षेत्रहरु कुन कुन हुन् ?
–पछौटे भुगोलहरु जोडिएर बनेको छ रोङ गाउँपालिका । यो क्षेत्र जिल्लाकै दुर्गम मध्ये एक हो । यहाँका जिर्मले, शान्तिनगर, शान्तिपुर, इरौँटार, कोल्बुङका ग्रामीण भुभागहरु हिजो इलाम जिल्ला विकास समिति नपुगेका ठाउँहरु छन् । हाइवे पहिल्यै आएपनि यहाँका बस्तीहरु झापाभएर इलाम आउनुपर्ने अवस्थामा थिए । अहिले कोल्बुङमा हाम्रो गाउँपालिका कार्यालय छ ।

यहाँबाट सबै छ वटै वडामा पुग्ने सडकको ट्रयाक खुलेको छ । सदरमुकामसँगको दुरी छोट्याउने र झापासँग जोडिने सडकहरुलाई पनि स्तरीकराण गर्ने काम भइरहेको छ । अहिलेसम्म हाम्रो मुख्य प्राथमिकताको क्षेत्र पुर्वाधार नै हो । यसबाहेक कृषि र पर्यटन क्षेत्रमा हामीले बजेट केन्द्रीकृत गरेका छौं । शिक्षा, स्वास्थ्य जस्ता क्षेत्रलाई पनि सुधारको प्रयास निरन्तर भइरहेको छ ।

यो वर्षभित्र रोङ गाउँपालिका ‘उज्यालो रोङ’ घोषणा हुन्छ । त्यस्तै ‘सजिलो रोङ’ अभियान अन्तर्गत चाँहि सबै वडामा पुग्ने सडकलाई स्तरीकरण गर्ने काम पनि भइरहेको छ । हामीले अहिले पनि दुई करोड बजेट कृषिकैलागि वडामा दिएका छौं । बजार नजिकै भएकाले कृषि क्षेत्रलाई नै प्राथमिकतामा राखेर काम गरिरहेका छौं । हामीकहाँ पर्यटनको पनि उच्च सम्भावना छ । यहाँको पाथीभरा मन्दिरसहित अन्य विभिन्न ठाउँहरुमा नेपाल र भारतीय पर्यटकहरु समेत आइपुग्छन् ।

    

तपाईको प्रतिक्रिया