तेह्रथुममै खुल्यो पेट्रोल पम्प
तेह्रथुम । भौतिक पुर्वाधार तथा यातायात राज्यमन्त्री सीता गुरुङले राज्यले लिएको तीन खम्बे अर्थनीति मजबुद बनाए आर्थिक समृद्धि सम्भव रहेको बताउनुभएको छ । उहाँले सरकार, नीजि क्षेत्र र सहकारिताको अभियानलाई प्रवर्धन गरेर मुलुकलाई आर्थिक समृद्धितर्फ उन्मुख गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभयो ।
तेह्रथुममै पहिलो पटक म्याङलुङ्गमा स्थापना भएको पेट्रोल पम्पको उद्घाटन गर्दै राज्यमन्त्री गुरुङले व्यवसायिक र आत्मनिर्भर युवा अहिलेको आवश्यकता भएको बताउनुभयो । कांग्रेस केन्द्रीय सदस्य समेत रहेकी नेतृ गुरुङले जबसम्म गाँस, बासकै अभाव भइरहन्छ, तबसम्म मुलुकमा शान्ति र समृद्धि सम्भव नहुने धारणा राख्नुभयो ।
सरकारले युवाहरुलाई व्यवसायिक बनाउन कृषि क्षेत्रमा प्रशस्तै अनुदान कार्यक्रमहरु बनाएको भन्दै युवाहरु अब व्यवसायिक बन्नुपर्ने नेतृ गुरुङको जोड थियो । जिल्लाका युवा व्यवसायी चन्द्रशेखर सुवेदीले डेढ करोड रुपैयाँ लगानीमा म्याङलुङ्ग–जिरीखिम्ती सडक खण्डको टुक्रेमा तेह्रथुम फ्युल सेन्टर नामको पेट्रोल पम्प सन्चालन गर्नुभएको हो ।

६० हजार लिटर क्षमताको स्टक ट्यांकीसहित पम्प स्थापना भएपछि अब बोत्तलमा बोकेर हिड्नुपर्ने, आवश्यकता अनुसार नपाइने, फोहोर तेल पनि लिनुपर्ने, महँगो मुल्य तिर्नुेपर्ने जस्ता समस्या झेल्दै आएका जिल्लाबासीलाई राहत पुग्ने भएको छ । जिल्लामा एउटा पनि पेट्रोल पम्प नहुँदा यहाँ सन्चालन हुने सवारीले महँगो शुल्क तिरेर पेट्रोल र डिजेल किन्न बाध्य थिए । अब पम्पबाट ७७.२५ रुपैयाँ डिजेल र १०१.२५ रुपैयाँमा पेट्रोल खरिद गर्न पाउने भएका छन् । मध्यपहाडी लोकमार्गबाट समेत सवारी आवत् जावत् सुरु भएपछि यो खण्डमा सवारी चाप बढ्दो छ ।
पम्प सन्चालन गर्ने व्यवसायी सुवेदीलाई भरपर्दो सेवा प्रदान गर्न भन्दै राज्यमन्त्री गुरुङ सहित म्याङलुङ्ग नगरपालिकाका मेयर सन्जय तुम्बाहाम्फे, राजनीतिक दलको तर्फबाट नेपाली कांग्रेसका जिल्ला सभापति गोविन्द ढुंगाना, प्रमुख जिल्ला अधिकारी वेदनिधि खनाल लगायतले शुभकामना दिनुभयो । कार्यक्रममा तीन वटै सुरक्षा निकाय प्रमुखहरु, जिल्लास्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि, उद्योगी, व्यवसायी र सवारी धनीहरु उपस्थित थिए । पम्पले विहीबार बाटै पेट्रोल र डिजेल बेच्न थालेको छ ।
तस्विरहरु :