तेह्रथुम ।  तेह्रथुमको आठराई गाउँपालिका–४ इवाका रत्नमणि ओली दुई वर्ष अघिसम्म धान, मकै र कोदो बाली लगाउँदा मात्रै खेती गरेको सम्झनुहुन्थ्यो । त्यो बेलासम्म उहाँको आम्दानीको अर्को श्रोत सुन्तला र कागती मात्रै थियो । छिमेकमा कसैले परीक्षणका लागि लगाएको गोलभेँडाबाट राम्रो आम्दानी गरेको देखेपछि उहाँले पनि त्यही वर्ष परीक्षणका लागि गोलभेँडाको खेती थाल्नुभयो । 

तर उहाँले परीक्षणका लागि लगाएको गोलभेँडाबाटै ३० हजार रुपैयाँ आम्दानी लिनुभयो । दुई मुरी मकै फल्ने ठाउँमा लगाएको गोलभेँडाबाट वर्ष दिनलाई खर्च पुग्ने आम्दानी गरेपछि ओलीको मन गोलभेँडाको व्यावसायिक खेतीतिर तानियो । गएको वर्ष उहाँले गोलभेँडाको खेती बिस्तार गरेर दोब्बर बढी कमाउनुभयो ।

घर नजिकै सुन्तला बगानभित्रै लगाएको गोलभेँडा खेतीबाट यो वर्ष उहाँले डेढ लाख रुपैयाँ आम्दानी गर्नुभएको छ । ‘पहिले यो खेतीबारे थाहै थिएन, गाउँमा पनि कसैले गरेनन्’ उहाँ भन्नुहुन्छ, ‘अहिले अभ्यासकै क्रममा राम्रो आम्दानी लिइरहेको छु ।’ यो वर्ष उहाँले सुरुवातमा २० क्वीन्टल बढी गोलभेँडा किलोको १० देखि १५ रुपैयाँ दरमा बिक्री गर्नुभयो ।

मूल्य कम पाएपछि उहाँले यसपालि सोचेजति आम्दानी चाँहि नहुने रहेछ भनेर अड्कल काट्नुभएको थियो । तर दुई हप्ताको अन्तरमै फेरि गोलभेँडा मूल्य बढेर ३० रुपैयाँ प्रतिकिलो पुगेपछि उहाँले डेढ लाख रुपैयाँ बढी आम्दानी गर्न सकेको बताउनुभयो । ‘सुरुमा पनि यही मूल्यमा बिक्री गर्न पाएको भए दुई लाख बढी आम्दानी हुन्थ्यो’ उहाँ भन्नुहुन्छ ।

ओलीले घर नजिकका पहिले १० मुरी मकै फल्ने टारमा गोलभेँडाको खेती गर्नुभएको छ । ‘पहिले यही ठाउँमा २० मुरी मकै फल्दा पनि २० हजार जति मात्रै नगद हुन्थ्यो, अहिले यही ठाउँबाट डेढ लाख रुपैयाँ नगद आम्दानी भएको छ’ उहाँ भन्नुहुन्छ, ‘यसको बजार मूल्यमा उतार चढाब नआउने हो र बजारको सुरक्षा हुने हो भने सबै बारीमा लगाउने थिएँ ।’ ओलीको जस्तै गोलभेँडाको आम्दानीले उत्साहित बनाएको छ, आठराई गाउँपालिका–५, छातेढुंगाका किसान रत्नबहादुर रोकालाई पनि ।

उहाँले पनि यो वर्ष एक लाख रुपैयाँ बराबरको गोलभेँडा घरैबाट बेच्नुभएको छ । ‘सुरुमा थोरै क्षेत्रमा मात्रै रोपेका थियौँ, अहिले त गाउँका सबैले लगाएका छन्, आम्दानी पनि राम्रो भएको छ’ उहाँले भन्नुभयो । इवा र छातेढुंगा गाउँका झण्डै तीन सय बढी घरधुरीका किसानले गोलभेँडाको खेती लगाएको स्थानीय व्यवसायी नरप्रसाद सापकोटाले बताउनुभयो ।

उहाँका अनुसार यहाँका किसानले गोलभेँडा खेतीबाट कम्तिमा पनि २०–३० हजारदेखि ५ लाख रुपैयाँसम्म आम्दानी गरिरहेका छन् । सापकोटाले गाउँका किसानले फलाएको गोलभेँडालाई आफ्नै ट्रकमा ढुवानी गरेर पाँचथरको फिदिम, इलाम हुँदै झापाको विर्तामोडबाट भारततिर लैजाने व्यापारीलाई बिक्री गर्दै आउनुभएको छ । 

गाउँबाट यो वर्ष अहिलेसम्म एक करोड रुपैयाँ भन्दा बढीको गोलभेँडा निकासी भइसकेको व्यापारी सापकोटा बताउनुहुन्छ । यता लालीगुराँस नगरपालिका–१ टुटेका किसान मीनबहादुर गुरुङले पनि गएको वर्ष एउटा टनेलमा लगाएको गोलभेँडा खेतीबाटै ५० हजार रुपैयाँ भन्दा बढी आम्दानी गर्नुभएको छ ।

उहाँको सिको गर्दै यो वर्ष गाउँका झण्डै एक सय घरधुरीले गोलभेँडा गरेका छन् । बजारमा दिनानुदिन गोलभँेडाको मूल्य बढ्दै गइरहेको छ । शुक्रबार म्याङलुङ्गमा लाग्ने साप्ताहिक हटियामा गोलभेँडा प्रतिकिलो एक सय रुपैयाँले कारोबार भएको छ । त्यो पनि पर्याप्त नहुँदा धेरै ग्राहक रित्तै फर्किन बाध्य छन् ।

गोलभेँडाको खेती, बजारमा माग र किसानको आम्दानी सबै बढ्दो रहेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । गएको वर्ष भन्दा झण्डै दोब्बरले गोलभेँडा खेती बिस्तार भएको कार्यालयका प्राविधिक सहायक हरिगोपाल आचार्यले बताउनुभयो । उहाँका अनुसार क्षेत्रफलसँगै किसानले लिने आम्दानी र उत्पादन पनि बृद्धि भइरहेको छ । 

‘किसानले उत्साहित रुपमा गोलभेँडाको खेती बिस्तार गरिरहेका छन्, उहाँहरुलाई कार्यालय मार्फत हामीले सकेसम्म अग्र्यानिक उत्पादन गर्न तालिम र गोष्ठी आयोजना गरेका छौँ’, उहाँले भन्नुभयो । कार्यालयले गोलभेँडा लगायत तरकारी खेतीका लागि आर्थिक वर्ष २०७३/०७४ मा एक सय भन्दा बढी प्लाष्टिक टनेल वितरण गरेको थियो । ती टनेल लैजाने किसानमध्ये धेरैले गोलभेँडा खेती नै गरेको आचार्यले बताउनुभयो ।

जिल्ला कृषि विकास कार्यालयका अनुसार जिल्लाका इवा, छातेढुंगा, खाम्लालुङ, ह्वाकु, सुदाप, ओख्रे, आङिदम, म्याङलुङ्ग, पिप्ले, साब्ला, जिरिखिम्ती, मोराहाङ, ओयाक्जुङ, सोल्मा, बसन्तपुर, दाँगपा लगायत गाउँका किसानले गोलभेँडाको खेती गरेर मनग्य आम्दानी लिइरहेका छन् ।

गोलभेँडा बोटमा धेरै दिनसम्म नरहने, टिपेपछि पनि धेरै दिन राख्न नमिल्ने भएकाले बजारमा यसको मूल्यमा उतार चढाब हुने गरेको व्यापारीले बताएका छन् ।

तपाईको प्रतिक्रिया