तेह्रथुम । तेह्रथुमबाट आर्थिक वर्ष २०७३/०७४ मा साढे चार करोड रुपैयाँ भन्दा बढीको अदुवा जिल्लाबाहिर निर्यात भएको छ । जिल्ला कृषि विकास कार्यालयको तथ्यांक अनुसार वर्ष ४ करोड ७० लाख रुपैयाँ भन्दा बढीको अदुवा जिल्लाबाहिर निर्यात भएको हो । पराम्परागत रुपमा घरायसी प्रयोजनका लागि मात्र प्रयोग हुँदै अदुवाको अहिले जिल्लामा व्यावसायिक खेता हुन थालेको छ ।
किसानहरु व्यावसायिक बन्न थालेपछि उत्पादनमा वृद्धि भई राम्रो रकम समेत जिल्ला भित्रिन थालेको वरिष्ठ कृषि विकास अधिकृत रोहिणीराज घिमिरेले बताउनुभयो । ‘किसानले व्यवसायिक अदुवा खेती थालेका छन्’ उहाँले भन्नुभयो, ‘मूल्यमा गिरावट आएपनि यो वर्ष यती रकम अदुवा निकासीबाटै भित्रिएको छ ।’
जिल्लाबाट एक वर्षको अवधिमा २ हजार ७ सय ६६ मेट्रिक टन अदुवा निर्यात भएको छ । यसवर्ष २ सय ६० हेक्टर जमीनमा भएको अदुवा खेतीबाट ३ हजार ९ सय ५२ मेट्रिक टन अदुवा उत्पादन भएको थियो । जुन गएको वर्ष भन्दा ६ सय ६६ मेट्रिक टनले बढी पनि हो । अघिल्लो वर्ष ३ हजार २ सय ८६ मेट्रिक टन मात्रै उत्पादन भएको थियो ।
कुल उत्पादनको झण्डै ३० प्रतिशत अदुवामात्रै जिल्लाका बजारहरुमा खपत हुने गरेको छ । यो वर्ष १ हजार १ सय ८६ मेट्रिक टन अदुवा जिल्लाका किसान र उपभोक्ताले प्रयोग गरेका छन् । यहाँ उत्पादित अदुवा भारतीय बजारमा निर्भर छ । पटक–पटक नेपाली अदुवाको निकासी रोकिएपछि किसान मारमा पर्ने गरेका छन् ।