काठमाडौं, ७ मंसिर । संघ/प्रदेशसभाको पहिलो चरणमा चुनाव हुने ३२ जिल्लामा दल तथा उम्मेदवारले मतदातालाई आफ्ना पक्षमा तान्न औपचारिक रूपमा बिहीबार अन्तिम प्रयास गर्न पाउनेछन् । बिहीबार राति १२ बजेबाट मौन अवधि सुरु हुने भएकाले पहिलो चरणको चुनाव प्रचार बिहीबारसम्म मात्रै गर्न पाइन्छ । प्रचार प्रसारको अन्तिम दिनलाई उपलब्धिमूलक बनाउन दलका शीर्ष नेता तथा उम्मेदवारले ठाउँ-ठाउँमा खटिने योजना बनाएका छन्। निर्वाचन ऐनअनुसार मतदानको ४८ घन्टा अघिबाट मौन अवधि सुरु हुन्छ ।

आयोग प्रवक्ता नवराज ढकालले बिहीबार राति १२ बजेबाट मौन अवधि सुरु हुने जानकारी दिँदै यस अवधिमा दल, उम्मेदवार, नागरिक समाज तथा सञ्चारमाध्यमले चुनाव प्रचार-प्रसार गर्न नपाइने बताए। मंसिर २१ मा ४५ जिल्लामा हुने दोस्रो चरण चुनावको प्रचार-प्रसार गर्न भने दलहरूलाई छुट छ । आयोग प्रवक्ता ढकालले पहिलो चरणको निर्वाचनमा सहभागी हुने मतदातालाई प्रभावित हुने गरी दोस्रो चरणको प्रचार नगर्न भने सचेत गराएको छ ।

‘पहिलो चरणका लागि सुरु भएको मौन अवधिमा सञ्चारमाध्यमबाट प्रकाशन/प्रसारण गरिने समाचारजन्य सामग्रीबाट मतदातालाई प्रभाव पर्ने भएकाले यो अवधिमा आचारसंहिताविपरीतका सामग्री प्रकाशन/प्रसारण नगर्न आग्रह गरिएको छ’, प्रवक्ता ढकालले भन्नुभयो ।

मौन अवधिमा एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यमद्वारा पनि मत माग्न र निर्वाचन प्रचारप्रसार नगर्न आयोगले भनेको छ । आयोगले मौन अवधिमा सञ्चारमाध्यममार्फत उम्मेदवार वा राजनीतिक दलको प्रचार हुने गरी समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न नहुने जनाएको छ ।

मंसिर १० मा मतदान भए पनि गणना भने दोस्रो चरण निर्वाचनपछि मात्र सुरु हुनेछ । आयोगले पहिलो चरणको परिणामबाट दोस्रो चरणको चुनाव प्रभावित नहोस् भनेर मतगणना एकैसाथ गर्ने निर्णय लिएको छ।

तपाईको प्रतिक्रिया