काठमाडौं । पहिलोपटक मन्त्री भएकै बेला आफ्ना अडान र कामहरुले चर्चित बन्न पुगेका लालबाबु पण्डितलाई अब थप विस्तारमा बुझ्न सकिनेछ ।  उहाँको आत्मकथा ‘सिंहदरबार बदल्ने संघर्ष’ मंगलबारदेखि बजारमा सार्वजनिक भएको छ ।

लालबाबु पण्डित नेकपा एमालेका नेता हुनुहुन्छ । उहाँ भूमिगतकालदेखि नै एमालेसँग आवद्ध रहँदै आउनुभएको छ । तर, केहि वर्षअघि मात्र पहिलोपटक मन्त्री हुनासाथ उहाँ दुईवटा कुराले एकाएक चर्चाका पात्र बन्नुभयो ।

पहिलो थियो ग्रीनकार्ड र पिआरको आवेदन दिनेले राज्यका जिम्मेवार ओहदा ओगटेर बस्न नपाइने घोषणा । यसले विशेष गरि डिभीलगायत माध्यमबाट विदेशी मुलुकको स्थायी बसोबासका निस्सा पनि लिने र नेपाल सरकारका उच्च ओहदामा पनि बसिरहने थुप्रै कर्मचारीलाई प्रभावित पारेको थियो । त्यतिबेला धेरैले दोहोरो नागरिकता परित्याग गरे भने केहिले विदेशकै बसोबास रोज्दै उच्च सरकारी ओहोदा परित्याग गरे । यसले ठूलो बहस पनि निम्त्याएको थियो । त्यसैले हत्तपत्त चर्चामा नआउने सामान्य प्रशासन मन्त्रालय सम्हालेका मन्त्री भइसकेपछि पनि लालबाबु त्यतिबेलाको मन्त्रीपरिषदकै सर्वाधिक चर्चित पात्र बन्न पुग्नुभएको थियो ।

नेपालको संक्रमणकालीन इतिहासका एक उल्लेखनीय पात्र बन्नका निम्ति लालबाबुलाई उनको अर्को कदमले पनि सघाएको थियो । त्यो हो, मुलुक कठिन राजनीतिक मोडबाट गुजिएको बेला मधेस र मधेसीलाई हेर्ने तत्कालीन मन्त्री लालबाबु पण्डितका दृष्टिकोण । पूर्वी तराइको एउटा अल्पसंख्यक समूदायबाट राजनीतिको मूलधारमा आएका पण्डितले त्यतिबेला लिएका अडान र व्यक्त गरेका विचारहरु मधेशकै अर्का घेराले उठाइरहेको आवाजसँग बाझिन पुगेको थियो । विभाजनको राजनीति चर्किरहेको बेलामा लालबाबुले समूदायहरुलाई जोड्ने सेतू बन्ने प्रयास गरेका थिए । पण्डितका तत्कालीन भनाइहरुले उनलाई चर्चाको केन्द्रमा ल्याइदिएको थियो ।

यो बाहेक सरल व्यक्तित्व र सामान्य जीवनशैलीमा रमाउने लालबाबु पण्डितको रंग–ढंगले पनि धेरैलाई आकर्षित गरिदियो । साइकल वा ट्याम्पुमा यात्रा गर्ने यी व्यक्तिका बारेमा थप जिज्ञासा जनसाधारणमा पैदा भयो ।

लोकप्रिय नेता मदन भण्डारीसँग भूमिगत कालमा साथै रहेर संगठनमा लागेका घटनादेखि पढाई र पारिवारिक जीवनसम्मका भोगाइहरु कथाजस्तै भेटिए । यी सबैले लालबाबुमा सम्झौताहिन स्वभाव र राजनीतिक संघर्षबाट खारिएर तयार भएको व्यक्तित्व अगाडि ल्याएको रहेछ ।

यसरी राजनीतिक जीवनलाई सत्ताको चरित्र बदल्ने संघर्षका रुपमा परिणत गरेका उनै लालबाबुका तिनै रोचक भोगाइहरु यस आत्मकथामा समेटिएको छ ।पण्डितले युवा सञ्चारकर्मी मुकेश पोख्रेलसँगको सहकार्यमा पुस्तक तयार पारेका हुन् । ‘पहिलोपटक मन्त्री बन्नेबित्तिकै जताततै भद्रगोल मात्र देख्न थालेँ’ पण्डित भन्नुहुन्छ ‘त्यति बेलै सबैभन्दा पहिले मैले आफूलाई बदल्ने संकल्पका साथ काम सुरु गरेको थिएँ ।’

पण्डित भन्नुहुन्छ, ‘यो पुस्तकमार्फत मैले आफू स्वयमलाई कसीमा राखेको छु’, पण्डितले थपे, ‘मैले राम्रो गरेँ वा नराम्रो भनेर छुट्याउने जिम्मा अब पाठकहरुकै हातमा छोड्छु ।’

नेपालयले प्रकाशन गरेको पुस्तकको मूल्य ३२५ रुपैयाँ रहेको छ ।

तपाईको प्रतिक्रिया