तेह्रथुम । दोश्रो चरणमा मंसिर २१ गते चुनाव हुने जिल्ला तेह्रथुममा सर्वदलीय निर्वाचन सहयोग समिति गठन भएको छ । जिल्ला सुरक्षा समितिले बुधबार जिल्लास्थित सरोकारवालाहरुसँग छलफल गरी निर्वाचन आचारसंहिता पालना, शान्तिपुर्ण र भयरहित बातावरणमा निर्वाचन गर्न सर्वदलीय निर्वाचन सहयोग तथा समन्वय समिति गठन भएको हो ।

सरोकारवालाहरु बीचमा जिल्लामा निर्वाचन आचारसंहिता पालनाको स्थितिको बारेमा छलफल गर्दै कही कतै भुलवश् उल्लङघन भएको खण्डमा सुधार गरेर जाने सर्वदलीय सहमति जुटेको छ । दलका प्रतिनिधिहरुले राजनीतिक गतिविधि र निर्वाचन गतिविधि गर्दा आपसी समन्वयका आधारमा सन्चालन गर्ने प्रतिवद्धता समेत जनाएका प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले बताउनुभयो ।

आचारसंहिता विपरीत प्रचार प्रसार गरिए सम्बन्धित अधिकारीहरुबाट आचारसंहिता पालना गराउने, पोष्टर पम्प्लेट हटाउने, झण्डा हटाउने लगायत गर्न सकिने समेत निर्णय भएको छ । निर्वाचन सहयोग तथा समन्वय समितिमा जिल्लास्थित नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा, नेकपा माले, संघीय समाजवादी फोरम, नयाँ शक्ति पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मन्च र राष्ट्रिय जनमोर्चाका प्रतिनिधि नेताहरु संलग्न छन् ।

जिल्लामा मंसिर २१ गते हुने मतदानका लागि अहिले दलहरुले चुनाव प्रचार प्रसार गरिरहेका छन् । ८९ वटा मतदान केन्द्र रहेकामा ६६ हजार ६ सय ६७ जनाले मतदाताले मतदान गर्ने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया