ताप्लेजुङ, ६ मंसिर । बाणिज्य मन्त्री एवम् नेपाली काँग्रेसका नेता मीन विश्वकर्माले काँग्रेसको जीतलाई कुनै शक्तिले रोक्न नसक्ने दावी गर्नुभएको छ । बुधबार विहान ताप्लेजुङ सदरमुकाममा सञ्चारकर्मीहरु संग कुरा गर्दै उहाँले काँग्रेसबाट अलग रहेर अरु पार्टीको साथमा रहे मुलुक अघाडी वढ्दैन भन्ने कुरा नेपाली जनतालाई विस्वास भएकाले जनताको मतलाई कुनै शक्तिले रोक्न नसक्ने बताउनुभयो ।
उहाँले भन्नुभयो – ‘नेपाली जनताले अधिनायकबाद वा कम्युनिष्ट मन पराउँदैनन्, हिजो एमाले लोकतान्त्रिकरण हुँदै छ भनेर केही मानिस उसै तर्फ लागे तर आज एमाले अधिनायकबाद तर्फ फर्कियो भनेर बुझेका तिनै मानिस काँग्रेसको साथमा आएका छन्, यसले हामीलाई फाईदा पुगेको छ ।’ राणा शासन देखि राजा ज्ञानेन्द्रलाई हटाउँदै मुलुकलाई संविधान दिने पार्टी काँग्रेसले मात्रै अव लोकतन्त्रको रक्षा गर्न सक्ने भन्दै उहाँले निर्वाचनमा कम्युनिष्ट गठवन्धनले कुनै पनि असर नगर्ने स्पष्ट पार्नुभयो ।
निर्वाचन प्रचार–प्रसारका क्रममा ताप्लेजुङ सहित पुर्वमा निस्कनुभएका मन्त्री विश्वकर्माले एमाले र माओवादी केन्द्रले झण्डा एकै ठाउँमा राखे पनि मतदाताको मन जोडिनसकेकाले हिजो काँग्रेसको पकड भएको पुर्वमा कुनै आपत्ति नरहेको दावी पनि गर्नुभयो । पुर्वका कुनै पनि जिल्लामा काँग्रेसले पराजय वहोर्नु पर्ने स्थीति नदेखिएको उहाँले उल्लेख गर्नुभयो ।
राजालाई हराएको पार्टीले कुनै दलको केन्द्रीय नेतालाई हराउन समस्या नहुँने भन्दै उहाँले सँधै जनताकै साथमा रहेर काम गरेका आफ्नो पार्टीका उम्मेदवारहरुको जीत निश्चित रहेको दावी गर्नुभयो । एक फरक प्रसंगमा उहाँले निर्वाचनलाई केन्द्रित गरेर मुलुकभरको सुरक्षा व्यवस्था सुदृढ गरिएकाले भयरहित एवम शान्तिपुर्णरुपमा निर्वाचन सम्पन्न हुनेमा ढुक्क हुन आग्रह गर्नुभएको छ ।
ताप्लेजुङको समेत सुरक्षा व्यवस्थाका बारेमा यहाँका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, नेपाली सेनाबाट जानकारी लिएको भन्दै कुनै अप्रिय घटना नहुने स्पष्ट पार्नुभएको छ । अहिले प्रधानमन्त्री शेरबहादुर देउवाले नै गृह मन्त्रालयको समेत जिम्मेवारी सम्हालेकाले सुरक्षा व्यवस्था थप सुदृढ भएको उहाँको भनाई छ । आईतबार साँझ चुनाव प्रचार प्रसारका लागि मन्त्री विश्वकर्मा ताप्लेजुङ आउनुभएको थियो ।