संखुवासभा, ६ मंसिर । मंसिर १० मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदान सामग्री सहित कर्मचारीहरु किमाथांका पुगेका छन् । छिमेकी मुलुक चीनसंग सिमाना जोडीएको जिल्लाकै विकट किमाथांकामा मतदान अधिकृत सहितका टोली मतदान सामग्री लिएर पुगेका छन् । उनीहरु पाँचदिन पैदल यात्रा गरेर किमाथांका पुगेका हुन् ।
कडा सुरक्षाका बीच उनीहरु भोटखोला गाउँपालिकाका किमाथांका, चेपुवा, हटिया र बाला पुगेका हुन् । उनीहरु बिना अबरोध मतदान स्थल पुगेको निर्वाचन सुरक्षा समितिले जनाएको छ । टोलीलाई स्थानीयहरुले भव्य स्वागत गरेका छन् । जिल्लाबाट खटिएका मतदान अधिकृत, सहायक अधिकृत, कर्मचारीहरु र सुरक्षा कर्मीहरुलाई फूलमाला लगाएर स्वागत गरिएको किमाथांकाका थुडोप भोटेले बताए । निर्वाचन स्थलको निर्माण तथा व्यवस्थापनका लागि पनि स्थानियले सहयोग गर्ने भोटेले बताए ।
उनीहरुले बिहिबार सर्बदलिय बैठक गर्ने मूख्य निर्वाचन अधिकृत प्रकाश राउतले बताए । त्यस्तै निर्वाचनको काम सुरु गर्ने र मतदान स्थल निर्माण गर्ने मूख्य निर्वाचन अधिकृत राउतले बताए । मतदान अधिकृतको निर्देशनमा टोलीले ८ र ९ गते मतदाता परिचय पत्र वितरण गर्ने छन् । तर संचारको असुविधाका कारण जिल्लाकै टाढा पर्ने थुदाम मतदान स्थलमा टोली पुगे नपुगेको जानकारी भइ नसकेको राउतले बताए ।
१ सय ३ मतदान स्थलका १ सय ५३ केन्द्रका लागि निर्वाचन सामग्री सहित कर्मचारीहरु मतदान स्थलमा शनिबारदेखि पठाउन सुरु गरिएको थियो । निर्वाचनका लागि १ सय ५३ मतदान अधिकृत र मतदान सहायक अधिकृत सहित १२ सय ९ जना कर्मचारी खटाइएको छ । सुरुमा जिल्लाकै विकट र टाढा रहेको भोटखोला गाउँपालिकाका विभिन्न मतदान स्थलहरुमा टोली पठाइएको थियोे । नजिकैका र यातायात सञ्चालन हुने स्थानहरुमा बुधबार सम्ममा टोलीलाई खटाइ सकिएको छ । प्रहरीको साथमा मतदान अधिकृत र मतदान सहायक अधिकृत सहित निर्वाचनका सामाग्री लिएर सुरक्षाको टोलीले स्कटिङ गरी मतदान स्थलसम्म पु¥याउने काम गरिएको प्रहरी नायव उपरिक्षक सन्तोष खड्काले बताए । टोलीले मतदाता शिक्षा समेत दिने छन् ।