तेह्रथुम, ६ मंसिर । दोश्रो चरणमा निर्वाचन हुने तेह्रथुममा उम्मेदवारी दर्ता गरेका उम्मेदवारहरु यतिवेला प्रचार प्रसारका लागि गाउँ–गाउँ पुगिरहेका छन् । मुख्य प्रतिष्पर्धी लोकतान्त्रिक गठबन्धन र बाम–गठबन्धनले चुनाव प्रचार प्रसारलाई तिव्रता दिएका छन् । अन्य साना दलहरुले पनि चुनाव प्रचार प्रसारलाई जोड दिएका छन् । उम्मेदवारहरु संगठन परिचालन र प्रशिक्षण गर्दै गाउँ दौडाहामा होमिएका हुन् । जिल्लादेखि विभिन्न गाउँपालिका, नगरपालिका र वडास्तर सम्म सबै संगठन समितिहरु निर्माण गरेर चुनाव प्रचार प्रसारलाई दलहरुले जोड दिएका छन् ।
बुधबार पनि जिल्लाका विभिन्न गाउँ टोलमा छुट्टा–छुट्टै चुनावी सभा भएका छन् । प्रतिनिधि सभामा एक निर्वाचन क्षेत्र रहेको जिल्लामा ११ दलको उम्मेदवारी छ । प्रदेश सभा (क) मा ९ र प्रदेश सभा (ख) मा ८ जनाले उम्मेदवारी दिएका छन् । सबै उम्मेदवारहरुलाई गाउँ गाउँ पुगेर मतदातालाई आफ्नो पक्षमा पार्न भ्याई–नभ्याई छ । प्रतिनिधि सभाकी मुख्य प्रतिष्पर्धी उम्मेदवार कांग्रेस केन्द्रीय सदस्य तथा भौतिक पुर्वाधार तथा यातायात राज्यमन्त्री सीता गुरुङले बुधबार तीन स्थानमा चुनावी सभा गर्नुभएको छ । राज्यमन्त्री गुरुङले जिल्लाको पुर्वाधार विकास, सडक, सिंचाई, शिक्षा, स्वास्थ्य लगायत विभिन्न एजेण्डाहरु लिएर मतदाताको मन जित्न टोल बस्तीसम्म पुगिरहेको बताउनुभयो ।
उहाँले लोकतन्त्रको रक्षा गर्दै कांग्रेसकै नेतृत्वमा जारी भएको संविधान कार्यान्वयनका लागि पनि कांग्रेसलाई जिताउन मतदातालाई आग्रह गरेको बताउनुभयो । कांग्रेस जिल्ला सभापति तथा प्रदेश सभा (क) क्षेत्रका उम्मेदवार गोविन्द ढुंगानाले जिल्लाको समग्र विकास गरी नमुना बनाउने अभियानसहित कांग्रेस चुनावमा होमिएको बताउनुभएको छ ।
राज्यमन्त्री गुरुङ र सभापति ढुंगानाको टोलीले बुधबार म्याङलुङ्ग नगरपालिका–१, २ र ९ मा चुनावी सभा गरेको छ । कांग्रेसकै प्रदेश सभा (ख) क्षेत्रका उम्मेदवार विजय सम्बाहाम्फे पनि चुनावी अभियानमा व्यस्त हुनुहुन्छ । आफ्नो क्षेत्रको चौतर्फी विकास र सम्भावनाको खोजी गर्दै मतदाताको विश्वास जित्न गाउँ–गाउँ पुगिरहेको उहाँले बताउनुभयो ।
यता नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त बाम गठबन्धनका उम्मेदवारहरु पनि चुनावी दौडाहामा छन् । बुधबार बाम–गठबन्धनका उम्मेदवारहरुले पनि जिल्लाका विभिन्न स्थानमा चुनावी सभा गरेका छन् । गठबन्धनका लागि प्रतिनिधि सभाका उम्मेदवार पुर्वसांसद भवानीप्रसाद खापुङ सहितको टोलीले बुधबार मेन्छ्यायेम गाउँपालिकाको श्रीजुङमा चुनावी सभा गरेको छ । नेता खापुङले आफुले जिते जिल्लाको समग्र विकासमा लहर आउने दाबी गर्नुभएको छ । उहाँले स्थायी सरकार र आर्थिक समृद्धिका एजेण्डालाई आफुलाई प्राथमिकतामा राखेर चुनावी अभियान गरिरहेको बताउनुभयो ।
सो कार्यक्रममा चुनाव परिचालन कमिटीका संयोजक माओवादी केन्द्रका जिल्ला इन्चार्ज दुर्गा चापागाई, एमाले नेताहरु विष्णुमाया विक, किशोरचन्द्र दुलाल, गोविन्दराज श्रेष्ठ, विश्वराज खापुङ लगायतले मन्तव्य राख्नुभयो । प्रदेश सभा (क) क्षेत्रका बाम गठबन्धनका उम्मेदवार एमाले जिल्ला अध्यक्ष लक्ष्मण तिवारी सहितको टोलीले लालीगुराँस नगरपालिकाको बसन्तपुरमा चुवानी सभा गरेको छ । अध्यक्ष तिवारीले आफुले कृषि, पर्यटन, पुर्वाधार विकास, सडक, विद्यूत लगायतका मुद्धा लिएर मतदातामाझ पुगिरहेको बताउनुभयो ।
कार्यक्रममा एमाले प्रदेश सभाका समानुपातिक उम्मेदवार अनुभुतिबम नेपाली, नेताहरु देवेन्द्र थापा, राजकुमार कार्की, दिलु सेने, कमल केशी, सल वहादुर तिवारी लगायतले मन्तव्य राख्नुभयो । बुधबारै प्रदेश सभा (ख) क्षेत्रको आठराई गाउँपालिकाको सक्रान्ति डाँडागाउँमा पनि चुनावी कार्यक्रम भएको छ । कार्यक्रममा बोल्दै गठबन्धनका नेताहरुले गठबन्धनलाई विजयी गराउन मतदातालाई आग्रह गरेका छन् । सो क्षेत्रका उम्मेदवार एमाले पुर्वजिल्ला अध्यक्ष तेजमान कन्दङवाले सबै क्षेत्रको विकास र समृद्धिका लागि आफुले विभिन्न कार्यक्रमहरु सहित मतदातामाझ पुगिरहेको बताउनुभयो । कार्यक्रममा आठराई गाउँपालिकाका अध्यक्ष मानबहादुर लिम्बु, एमाले नेता रामचन्द्र थपलिया, बाबुराम थापा, भीम घिमिरे लगायतले मन्तव्य राख्नुभयो ।

यता सदरमुकाम म्याङलुङ्गमा भएको कार्यक्रममा एमाले जिल्ला उपाध्यक्ष संजय तुम्वाहाम्फे, सचिव शिव ढुङ्गाना, उपसिचव भुपतिलाल श्रेष्ठ, नेता छत्र रिमाल, युवा संघ केन्द्रीय सदस्य अर्जुन ढुङ्गाना लगायतले मन्तव्य राख्नुभएको छ । मुख्य प्रतिष्पर्धी लोकतान्त्रिक गठबन्धन र बाम गठबन्धनबाहेक साना दलहरु पनि चुनावी अभियानमा छन् । बुधबारै संघीय लोकतान्त्रिक राष्ट्रिय मन्चले आठराई गाउँपालिकाको केन्द्र सक्रान्तिबजारमा चुनावी सभा गरेको छ । सभालाई मन्चका केन्द्रीय अध्यक्ष कुमार लिङदेन सहित नेताहरुले सम्बोधन गर्नुभएको छ । नयाँ शक्ति पार्टी नेपालका केन्द्रीय सह–संयोजक तथा पुर्वमन्त्री पर्शुराम खापुङ पनि चुनावी दौडाहामा हुनुहुन्छ ।
नेकपा माले, संघीय समाजवादी फोरम, मंगोल नेशनल अर्गनाइजेसन लगायत अन्य दलहरुले पनि चुनावी अभियान गरिरहेको बताएका छन् । जिल्लाबाट प्रतिनिधि सभामा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा भौतिक पुर्वाधार राज्यमन्त्री सीता गुरुङ, वाम–गठबन्धनका लागि एमाले नेता भवानीप्रसाद खापुङ, संघीय समाजवादी फोरमका तुलसीप्रसाद अधिकारी, नेकपा मालेका डिल्लीबहादुर बुढाथोकी, राप्रपा प्रजातान्त्रिकका गौरीप्रसाद कन्दङवा, संघीय लोकतान्त्रिक राष्ट्रिय मन्चका शंकरमान लिम्बु, मंगोल नेशनल अर्गनाइजेशनका गंगाप्रसाद चोङवाङ, राष्ट्रिय जनमोर्चा पार्टीका हरिलाल अधिकारी, देशभक्त जनगणतान्त्रिक मोर्चाका कालीबहादुर फुदोङ, नयाँ शक्ति पार्टीका टंकबहादुर भट्टराई र राष्ट्रिय जनमुक्ति पार्टीका सागरनाथ रेग्मीको उम्मेदवारी छ ।
यस्तै प्रदेश सभा सदस्य ‘क’ निर्वाचन क्षेत्रमा लोकतान्त्रिक गठबन्धनका लागि नेपाली कांग्रेसका जिल्ला सभापति गोविन्द ढुंगाना, बाम गठबन्धनका लागि एमाले जिल्ला अध्यक्ष लक्ष्मण तिवारी, संघीय समाजवादी फोरम नेपालका सुर्य मादेन, नेकपा मालेका माधव प्रसाद खनाल, राप्रपा प्रजातान्त्रिकका धनराज कन्दङवा, संघीय लोकतान्त्रिक राष्ट्रिय मन्चका देउनारायण सम्बाहाम्फे, नयाँ शक्ति पार्टी नेपालका विष्णुप्रसाद दाहाल, मंगोल नेशनल अर्गनाइजेशनका डालेश्वर लिम्बु, र राष्ट्रिय जनमुक्ति पार्टी नेपालका बीरबहादुर थापा उम्मेदवार छन् ।
यस्तै प्रदेश सभा सदस्य ‘ख’ निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका विजय सम्बाहाम्फे, बाम गठबन्धनका एमाले पुर्वजिल्ला अध्यक्ष तेजमान कन्दङवा, संघीय समाजवादी फोरम नेपालका मानध्वज सम्बाहाम्फे, राप्रपा प्रजातान्त्रिकका यशोदा देवी कार्की, संघीय लोकतान्त्रिक राष्ट्रिय मन्चका विष्णुकुमार लिम्बु, नयाँ शक्ति पार्टी नेपालका राजेन्द्र कन्दङवा, मंगोल नेशनल अर्गनाइजेशनका डम्बर लिम्बु, राष्ट्रिय जनमुक्ति पार्टी नेपालका तारादेवी थापा उम्मेदवार हुनुहुन्छ । मंसिर २१ गते हुने चुनावमा जिल्लाका ६६ हजार ६ सय ६७ जना मतदाताले मतदान गर्ने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।