ललितपुर, ६ मंसिर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा एवम् प्रदेश सभा निर्वाचन २०७४ को केन्द्रीय परिचालन समितिका संयोजक बालकृष्ण खाँणले आसन्न निर्वाचनमा नेपाली कांग्रेसले सहज बहुमत ल्याउने दावी गर्नुभएको छ ।
नेपाली कांग्रेसले गठन गरेको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन २०७४ केन्द्रीय निर्वाचन परिचालन समितिको आयोजनामा बुधबार होटल समिटमा आयोजित “नेपाली कांग्रेसको घोषणापत्रका आर्थिक पक्ष”का बारेमा अर्थ विज्ञ र सञ्चारकर्मीहरुको अन्तरक्रिया कार्यक्रमलाई संबोधन गर्दै उहाँले सो दावी गर्नुभएको हो ।
उहाँले २०४८ सालको निर्वाचनमा पनि नेपाली कांग्रेसले खसेको मतको ३८ प्रतिशत प्राप्त गरेको र २०५६ सालको निर्वाचनमा ३७ प्रतिशत मत प्राप्त गरेको उल्लेख गर्दै भन्नुभयो,“ गत स्थानीय निर्वाचनमा हामीले झण्डै ३३ प्रतिशत(३२दशमलव ८ प्रतिशत) मत हासिल गरेका छौ, यो निर्वाचनमा हाम्रो निकै राम्रो सुधार भएको छ । हामीले ४० प्रतिशतको हाराहारीमा मत पाउने स्थिति छ । त्यसैले यो निर्वाचनमा नेपाली कांग्रेसको विजय सुनिश्चित छ ।”
उहाँले यो निर्वाचनमा नेपाली कांग्रेसले प्रतिनिधिसभाका १ सय ६५ सीट मध्ये १ सय ५३ मा आफ्ना उम्मेदवार उठाएको र प्रदेश सभाका ३ सय ३० मध्ये ३ सय २० सीटमा आफ्ना उम्मेदवार उठाएको बताउदै प्रतिप्रश्न गर्नुभयो,“जुन पार्टीहरुले जम्मा ६० प्रतिशत र ४० प्रतिशत सीटमा उम्मेदवारी दिएका छन्, तिनले कसरी बहुमत ल्याउन सक्छन ?”
“कम्युनिष्ट पार्टीहरुको गठबन्धन घोषणाका दिन मुठ्ठी उठाएर दुई तिहाई मतको दुहाई दिने नेताहरु अहिले बहुमतको कुरा गर्दैछन् तर उनीहरुको बहुमत पनि आउनेवाला छैन्” नेता खाँणले भन्नुभयो ।
उहाँले यो निर्वाचनमा कम्युनिष्ट गठबन्धनको विरुद्धमा नेपाली कांग्रेस एकजुट भएको उल्लेख गर्दै निर्वाचन परिचालनलाई पनि सुब्यवस्थित गरिएको बताउनुभयो ।
उहाँले कम्युनिष्ट नेताहरुले असंगतिपूर्ण अभिव्यक्ति दिएको उल्लेख गर्दै भन्नुभयो,“उहाँहरुका अभिव्यक्तिले उहाँहरुकै परम्परागत मतदाता पनि दिग्भ्रमित भएका छन् । चुनाव ५ बर्षका लागि भैरहेको छ , उहाँहरु यसपटक जनादेश लिएर ५० बर्ष शासन गर्ने कुरा गरिरहनु भएको छ ।”
संविधानसभाको जगमा कम्युनिज्म आउदैन
नेता खाँणले यो निर्वाचनलाई नेपाली कांग्रेसले जनमत संग्रहको रुपमा लिएको पनि बताउनुभयो । “नेपाली जनताको ७० बर्षको संघर्षपछि नेपाली कांग्रेसको नेतृत्वमा समावेशिता सहितको संघीयता, लोकतन्त्र,गणतन्त्रलाई संस्थागत गर्ने संविधान आएको छ । नेपाली कांग्रेस यसमा भएको कमी कमजोरी सुधार गरेर राजनीतिक स्थायित्व कायम गर्दै शान्तिपूर्ण वातावरणमा आर्थिक विकास र समृद्धितर्फ जान चाहन्छ” नेता खाँणले भन्नुभयो,“उनीहरु यो संविधानलाई फालेर कम्युनिष्ट शासन ल्याउने सपना बाँडिरहेका छन । दुनियाँमा कहिं पनि संविधानसभाको जगमा कम्युनिष्ट शासन आएको छैन, नेपालमा पनि त्यो संभव छैन् ।”
राष्ट्रियतामा नेपाली कांग्रेस अब्बल
उहाँले नेपाली कांग्रेस राष्ट्रियताको पहरेदार भएकोले राजा महेन्द्र, पञ्चायत र कम्युनिष्टहरुले निरन्तर प्रहार गरेको पनि उल्लेख गर्नुभयो । उहाँले २०१५ सालमा नेपाली कांग्रेसको नेतृत्वमा रहेको सरकार र नेपाली कांग्रेसको दुइ तिहाइ वर्चश्व रहेको संसदको विघटनमा राजासहित अन्तराष्ट्रिय शक्तिहरुको समेत हात रहेको कुरा छर्लङ्ग भैसकेको बताउनुभयो ।
“नेपाल जस्तो भौगोलिक,जातीय,धार्मिक,सांस्कृति,भाषिक जस्ता अनगिन्ति मौलिक विविधता बोकेको राष्ट्रमा आफ्ना मौलिक पक्ष जोगाउन खोज्नेलाई पञ्चायत कालिन एकै भाषा एकै भेषको बोली दोहो¥याएर विखण्डनकारीको आरोप लगाउनेहरु कसरी राष्ट्रवादी हुन सक्छन्” नेता खाँणले भन्नुभयो ।
नेता खाँणले नेपालमा बस्ने अल्पसंख्यक,आदिवासी,मधेशी,हिमाली पहाडी लगायत जजस्ले समस्याका कुरा उठाएका छन् त्यसलाई नेपाली कांग्रेसले राष्ट्रिय मुद्दाको रुपमा लिएर समाधान खोजेको तर एमालेले तिनीहरुलाई आरोपित गरेको बताउनुभयो । “ राष्ट्रिय एकताको संबर्धन गर्ने राष्ट्रवादी हुन्छ कि विखण्डनको वातावरण बनाउन सघाउने राष्ट्रवादी हुन्छ ?” नेता खाँणले प्रश्न गर्नुभयो ।
संविधानसभा काग्रेसको एजेण्डा
संविधानसभाको एजेण्डा नेपाली कांग्रेसको भएको दावी पनि नेता खाँणले गर्नुभयो । उहाँका अनुसार वीपी कोइरालाले २००५ सालमा कलकोतामा नेपाली जनताले बनाएको विधान सभाले संविधान बनाउने कुरा उल्लेख गर्नुभएको थियो । त्यो कुरालाई २००७ सालको अन्तरिम शासन विधानमा सरकारको पहिलो दायित्व विधानसभाको निर्वाचन गर्नुहुनेछ भनेर लिपिबद्ध गरिएको थियो । २०१२ सालको वीरगञ्ज महाधिवेशनमा तात्कालिन प्रधानमन्त्री टंकप्रसादले विधानसभाको निर्वाचन गर्ने कि संसदको भन्नेमा निर्णय भैनसकेको बताएर विवाद निकालेपछि प्रधानमन्त्रीले संविधानको विरुद्ध बोलेको भनेर प्रधानमन्त्री टंकप्रसाद आचार्यको विरुद्ध सर्वोच्च अदालतमा मुद्दा पनि हाल्नुभएको रहेछ ।
अदालतले यसको निर्णय गर्ने अधिकार सरकारमा रहेको निर्णय दिएपछि राजाले बोलाएको सर्वदलिय बैठकमा अन्यदलहरुको साथ नदिएपछि परिवर्तनका उपलब्धिहरु गुम्न नदिन वीपीले संसदको निर्वाचन स्वीकार गर्नुभएको हो । संविधान सभाको अभियान्ता कम्युनिष्ट हरु नभएर नेपाली कांग्रेस नै हो ।
बुढी गण्डकीलाई अन्तराष्ट्रिय प्रतिस्पर्धामा लैजाने
कार्यक्रममा नेता खाँणले हालै सरकारले रद्द गरेको बुढी गण्डकीको समझदारीका बारेमा पनि स्पष्ट पार्नुभएको थियो । “क्याबिनेटमा परिपक्व रुपमा प्रस्ताव लैजाने विधि छ । संबन्धित विभागबाट उठान भएर मन्त्रालयले स्वामित्व लिएपछि कानून मन्त्रालयको राय लिएर कार्यविधि सहित विभागीय सचिवले टिप्पणी र राय पेश गरेपछि विभागीय मन्त्रीले क्याबिनेटमा लैजाने हो ” तीन पटक मन्त्री भैसक्नुभएका नेता खाँणले भन्नुभयो,“ तर बुढी गण्डकीको प्रस्ताव त मन्त्रीले ठाडै ल्याउनुभयो , सचिवको हस्ताक्षर पनि छैन, मन्त्रीहरुले अध्ययन पनि गर्न पाएका छैनन् । निर्णय भइ प्रक्रिया मिलाएर ल्याउने सहमति भएपछि प्रधानमन्त्री र विभागीय मन्त्रीले क्याबिनेटको निर्णयमा घुसाइदिनुभएछ । ”
नेता खाँणले यस विषयमा संसदको सार्वजनिक लेखा समिति, अर्थ समिति र कृषि तथा जलस्रोत समितिले रद्द गर्ने निर्देशन दिएपछि सरकारले समझदारी रद्द गरेको दावी गर्दै भन्नुभयो,“ कुनै पनि सरकारले अघिल्लो सरकारले गरेको अनियमित काम छ भने त्यसलाई बोकेर हिड्छ कि सच्याउछ ?” नेता खाँणले अब सरकारले सो आयोजना ग्लोबल टेण्डरमा लगेर योग्य कम्पनीलाई निर्माणको जिम्मा दिने प्रबन्ध मिलाउने पनि जानकारी दिनुभयो ।
आर्थिक विषय र प्रत्यक्ष लाभहुने कार्यक्रममा जोड दिन आग्रह
नेपाली कांग्रेसको निर्वाचन प्रचारप्रसार समन्वय उपसमितिद्धारा आयोजित सो कार्यक्रममा अर्थविज्ञहरुले नेपाली जनताले सात दशकदेखि गरेको संघर्षका उपलब्धिहरुलाई संविधानसभाबाट जारी भएको वर्तमान संधिवानले लिपिबद्ध गरिसकेकोले अब कांग्रेस जनतालाई प्रत्यक्ष लाभदिने आर्थिक र सामाजिक विकासका कार्यक्रममा ध्यान केन्द्रित गर्नुपर्ने सुझाव दिनुभएको थियो ।
कार्यक्रममा पूर्व सचिव कृष्ण ज्ञवालीले मतदातालाई आर्थिक विकास र दिगो विकासका कुरा आकर्षित गर्ने भएपनि ती कुराहरु मपनयोग्य र संभाव्य छन् कि छैनन् भन्ने पक्षलाई पनि ध्यान दिनुपर्ने बताउनुभयो । पूर्व प्रशासक एवम् पर्यटनविद् प्रचण्डमान श्रेष्ठले आगामी १० बर्षमा ३२ लाख पर्यटक ल्याउन सकिने विश्वास प्रकट गर्दै भारतीय र धार्मिक पर्यटनलाई लक्षित गरि तराईमा पर्यटकीय क्षेत्रहरुको विकास गर्न सकिने बताउनुभयो।
उहाँले सरकारले एअरपोर्ट र सडक लगायतका पूर्वाधारमा लगानी गरेमा देशका ७७ वटै जिल्लामा स्थानीय निकायहरुको सहभागिता र निजी क्षेत्रको संलग्नतामा पर्यटन विकासको संभावना रहेको र पर्यटनको सम्बन्ध कृषि,उद्योग, रोजगारी रहने उल्लेख गर्नुभयो । उहाँले खर्चिला चिनिया र भारतीय पर्यटक ल्याउने रणनीति अंगीकार गर्नुपर्ने पनि बताउनुभयो ।डा.कमल रिजालले नेपालको विकासको निम्ति भ्रष्टाचारको अन्त्य र सुशासन महत्वपूर्ण पक्ष भएको उल्लेख गर्नुभयो । अर्का पूर्व सचिव एवम् राष्ट्रिय योजना आयोगका सदस्य शम्भुशरण कायस्थले देशको विकासको लागि कर्मचारी प्रशासनमा आमूल परिवर्तन गर्न आवश्यक देखिएको बताउनुभयो ।
अर्का सहभागी डा. निर्मल पाण्डेले भारतमा मोदीको आगमनले पूरै भारतमा नयाँ आशाको संचार भए जस्तै पार्टी र सरकारको उपल्लो तहबाट भ्रष्टाचारविहिन सुशासनको अनुभूति दिन सकेमा जनतामा नयाँ उत्साह थपिने बताउनुभयो । कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा.जगदीशचन्द्र पोखरेलले नेपाली कांग्रेसले हासिल गर्न सकिने विकासका लक्ष्यहरु राखेको उल्लेख गर्नुभयो । सो अवसरमा डा.विश्व पौडेलले नेपाली कांग्रेसले घोषणा पत्रमा उल्लेख गरेको एकीकृत सामाजिक सुरक्षाका अवधारणा सान्दर्भिक भएको उल्लेख गर्नुभयो ।
कार्यक्रम नेपाली कांग्रेस प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन २०७४ प्रचारप्रसार समन्वय उपसमितिका सदस्य तथा केन्द्रीय मिडिया सेन्टरका संयोजक डा.सुरेश आचार्यले सञ्चालन गर्नुभएको थियो ।