भोजपुर, ६ मंसिर । पहिलो चरणको निर्वाचन हुने जिल्लामा परेको भोजपुरमा मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको सरगर्मीले बढेको छ ।

यहाँ लोकतान्त्रिक गठबन्धन र बाम गठबन्धनबीचको तीव्र प्रतिस्पर्धाबाट लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रतिनिधिसभाका उम्मेद्वार बन्नुभएका नेपाली कांग्रेसका उमेशजंग रायमाझीले बाम गठबन्धनबाट उम्मेद्वार बन्नुभएका नेकपा माओवादी केन्द्रका सुदन किराँतीलाई केही समयदेखि पछाडि पार्नुभएको छ ।

लोकतान्त्रिक गठबन्धनबाट प्रतिनिधिसभामा कांग्रेसका उमेशजंग रायामाझि प्रदेशसभा (क) मा संघिय समाजवादी फोरमका आजम्बर काङमाङ राई र प्रदेशसभा (ख) मा कांग्रेसका गोविन्दबहादुर कार्की चुनावी मैदानमा उतारेको छ भने  बाम गठबन्धनबाट प्रतिनिधिसभामा नेकपा माओवादी केन्द्रका सुदन किराती, प्रदेशसभा (क) मा नेकपा एमालेका राजेन्द्र राई र प्रदेशसभा (ख) मा एमालेकै शेरधन राई चुनावी मैदानमा उत्रनुभएको छ ।

स्थानीय तहको निर्वाचनको मत परिणाम हेर्दा लोकतान्त्रिक गठबन्धन भन्दा बाम गठबन्धन अघि देखिन्छ । ९ स्थानीय तह रहेको यहाँ ४÷४ स्थानीय तहमा कांग्रेस र एमाले विजयी भएका थिए । यस्तै १ स्थानीय तहमा भने माओवादी विजयी भएको थियो ।

यस अगाडिका आम निर्वाचनमा एमालको वर्चश्व रहदै आएको जिल्लामा बाम तालमेलका नाममा नेकपा माओवादी केन्द्रका उम्मेद्वारलाई बोक्नु परेको हुनाले एमालेको जिल्ला र स्थानीय नेतृत्व रुष्ट बनेको देखिन्छ । यसको प्रभाव कार्यकर्ता परिचालनमा देखिइसकेको छ भने मतदानमा पनि यसको प्रभाव पर्ने बामपन्थी कार्यकर्ताहरुको भनाई रहेको छ ।

कूल १ लाख १३ हजार मतदाता रहेको भोजपुरमा  प्रतिनिधिसभामा रायामाझी र किरातीबीच कडा टक्कर भएपनि झिनो मतअन्तरले रामाझी विजयी हुने आँकलन गरिएको छ । निष्ठाको राजनीति गर्ने इमान्दार र हक्कि स्वभावका रायामाझीप्रति नेपाली कांग्रेस र लोकतान्त्रिक गठबन्धनको मात्र हैन, तटस्थ र परिवर्तनशील मतदाताहरुको मत समेत पर्ने देखिएको छ ।

किरातीको अराजकता र शान्तिपूर्ण राजनीतिमा आइसकेपछि पनि अपराधिक गतिविधिमा नाम जोडिएकाले पनि किरातिले चुनाव जित्दैनन्,’ एक तटस्थ बुद्धिजीवीले दावी गर्नुभयो, ‘जनतालाई इमान्दार जनप्रतिनिधि चाहिएको छ । त्यसैले पनि रामाझीको जित निश्चित छ ।’यता बाम गठबन्धनका नेताहरुले भने भोजपुरमा बामपन्थीको जनाधार बलियो भएको बताइरहेका छन् ।

प्रदेशसभा (क)मा अजम्बर र राजेन्द्रको कडा टक्करबीच अजम्बर उम्किने  प्रदेशसभा (ख)मा हुने रोचक प्रतिस्पर्धाबीच लोकतान्त्रिक गठबन्धनका कार्की बिजयमाला पहिरिन सक्ने दावी स्थानीय बुद्धिजीवीहरुले गरेका छन् ।

तपाईको प्रतिक्रिया