सुनसरी, ६  मंसिर । इटहरीका व्यवसायी पुस्कर पौडेललाई दुई दिन अघि एउटा पत्र आयो । पत्र पठाउनु भएको थियो एमाले अध्यक्ष केपी शर्मा ओलीले । व्यवसाय गर्ने पुस्कर छक्क पर्नु भो ।

केपी शर्मा ओलीले मलाई पत्र ? सुरुमा त विश्वास नै लागेन । उहाँलाई लाग्यो कुनै साथीले ‘मजाक’ गरिरहेको छ । आश्चर्य र अविश्वास रहँदा रहँदै पनि उहाँले पत्र खोल्दा थाहा भयो यो त चुनावी प्रचारको नयाँ शैलीमा पो रहेछ ।

पत्रमा वाम गठबन्धनको चुनाव केन्द्रित एजेन्डा र घोषणा पत्रको सार संक्षेप थियो । अहिले व्यवसायी पुस्करको जस्तै अरुको हातमा पनि एमाले अध्यक्ष केपी शर्मा ओलीका नामबाट आएको हवाइ पत्र छ । हवाई पत्रमा वाम गठबन्धनका उम्मेदवारलाई मत हाल्न आग्रह गरिएको छ । स्थानीय तहको चुनावका बेला चुनावी प्रचार सामग्रीका रुपमा टिर्सट, टोपी र गम्छा धेरै बिके । दलका प्रचार सामग्री छापेर बनाइएका भेष्टको मूल्य एक सय ५० रुपैयाँसम्ममा बिक्री भएको थियो ।

निर्वाचन आयोगले यस्ता चुनावी सामग्री प्रयोगमा प्रतिबन्ध लगाएपछि चुनावी प्रचारको शैली समेत फेरिएको छ । वाम गठबन्धनले अहिले सुनसरीका विभिन्न स्थानमा सडक नाटक गरिरहेको छ । मतदाताको धेरै उपस्थित हुने हाट बजार र चोकहरुमा अहिले दिनहुँ सडक नाटक मञ्चन भइरहेको छ ।

प्रदेशसभा र प्रतिनिधिसभाको मिति नजिक आउँदै गर्दा सुनसरीमा रहेका रेकर्डङ्गि स्टुडियोको व्यपार पनि बढेको छ । अहिले उम्मेदवारलाई सघाउने चुनावी गीत पनि बनिरहेका छन् । मतदातालाई फकाउन विभिन्न खाले आश्वसन दिने दलका उम्मेद्वारले मतदाता भाषण सुनेर कार्यक्रममा बस्न छाडेपछि चुनाव प्रचारको तरिका समेत फेर्नु परेको बताएका छन् ।

तपाईको प्रतिक्रिया