चिती,(लमजुङ) ६ मंसीर । नेपाली काँग्रेसका नेता दिलबहादुर घर्तीले नेपाली कांग्रेस सम्पूर्ण नेपालीलाई राजनीतिक अधिकार र आर्थिक रुपले सम्पन्न बनाउने लक्ष्य लिएर अगाडि बढिरहेको तर कम्युनिष्ट नेताहरु मुलुकमा पुनः राजनीतिक अस्थिरता ल्याउन उद्दत रहेको बताउनुभएको छ ।
नेपाली काँग्रेस लमजुङ प्रतिनिधी सभाका उम्मेद्वार घर्तीले मंगलबार चितीमा आयोजित कोणसभालाई सम्बोधन गर्दै सो कुरा बताउनुभएको हो ।
उहाँले मुलुकलाई सम्बृद्ध बनाउनका लागि लोकतान्त्रिक गठबन्धनको विजय आवश्यक रहेको बताउनुभयो । “ नेपाली जनताले चाहेजस्तो राजनीतिक व्यवस्था आइसेको छ र नेपाली जनताका प्रतिनिधिहरुले संविधानसभाबाट संविधान बनाएर यसको टुंगो लगाइसकेका छन” नेता धर्तीले भन्नुभयो,“ अब निर्वाचन पछि कांग्रेसको ध्यान संविधानलाई समयानुकल परिमार्जन गर्दै आर्थिक समृद्धिका कार्यक्रममा केन्द्रित हुनेछ ।”
कम्युनिष्टहरुले नेपाली जनतालाई फेरि राजनीतिक समस्यामा नै जकडेर राख्न चाहेको उल्लेख गर्दै नेता धर्तीले भन्नुभयो,“ कांग्रेस शान्ति, विकास र लोकतन्त्रको पक्षधर हो, कम्युनिष्टहरुले के के गरे त्यो हामीले देखि नै सकेका छौ ।”
कार्यक्रममा नेपाली काँग्रेस लमजुङ प्रदेश (क)का उम्मेद्वार गर्जबहादुर गुरुङले लमजुङको विकास काँग्रेस नेतृत्वले गरेको भन्दै यसलाई पुरा गर्नका लागि पनि काँग्रेसको विजय आवश्यक रहेको बताउनुभयो । “यस क्षेत्रको विकास मेरो जिम्मेवारी हो,”– उहाँले भन्नुभयो । उहाँले लमजुङ जिल्लालाई फेरी काँग्रेसको किल्ला बनाउन सबै लाग्नुपर्ने बताउनुभयो ।
नेपाली कांग्रेस जिल्ला कार्य समिति लमजुङका सभापति भेषबहादुर पौडेलले बाम एकताले नेपालको लोकतन्त्र संकटमा पर्नसक्ने भन्दै यसलाई जोगाउनका लागि भएपनि लमजुङमा काँग्रेसको जित आवश्यक रहेको बताउनुभयो ।
“बाम गठबन्धनको नाममा काँग्रेसले निर्माण गरेको संविधान कार्यान्वयन हुन नदिन केही दलहरु लागेका छन्, त्यसैले पनि काँग्रेसको विजय गराउनु आवश्यक छ,”– उहाँले भन्नुभयो ।
ज्यारखाङ, बाख्रेजगत र पुरानोकोटमा कोइराला
यता मंगलबार नै प्रदेश सभा (ख)मा नेपाली कांग्रेसका उम्मेद्वार कृष्णप्रसाद कोइरालाले आफ्नो चुनावी अभियानलाई तीव्र बनाउनु भएको छ ।
ज्यारखाङमा मंगलबार आयोजित चुनावी सभामा बोल्दै उहाँले गुरुङ र तामाङ् सभ्यताको संरक्षण र विकासमा आफु लाग्ने बताउनुभयो ।“गुरुङ् र तामाङ् संस्कृतिको धनी लमजुङ्मा यसको संरक्षण र विकास गर्न कांग्रेसले ध्यान दिनेछ । यसलाई लमजुङ् आकर्षक पर्यटकीय प्रडक्ट बनाइनेछ ”नेता कोइरालाले भन्नुभयो ।
उहाँले मगलबार नै बाख्रेजगतको कोणसभालाई सम्बोधन गर्दै बाख्रेजगतका तामाङ बस्तीको विकासमा आफुले काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले २०३८ सालमा समाजसेवाका लागि आएको स्मरण गर्दै यसको विकासको परिकल्पना आफूसंग रहेको बताउनुभयो ।
मंगलबार नै नेता कोइरालाले नेपाली कँंग्रेसले पुरानकोटमा आयोजना गरेको कार्यक्रमलाई संबोधन गर्दै लमजुङको समग्र विकासका लागि लोकतान्त्रिक गठबन्धनलाई भोट दिनुपर्ने बताउनुभएको छ । उहाँले बाम एकताले नेपालीले ७० बर्ष संघर्ष गरेर हासिल गरेको सम्पूर्ण उपलब्धीहरु उल्ट्याउने बाटोमा बाम गठबन्धनका नेताहरु लागेकोले लोकतन्त्रलाई जोगाउन नेपाली कांग्रेसलाई जसरी भएपनि जिताउनै पर्ने विचार व्यक्त गर्नुभयो ।
नेता कोइरालाले विगतदेखि नै काँग्रेसले जित्दै आएको लमजुङ जिल्लालाई फेरी काँग्रेसको किल्ला बनाउन सबै लाग्नुपर्ने बताउनुभयो ।