झापा । नेपाली काँग्रेसका नेता तथा झापा क्षेत्र नम्बर ३ का उम्मेद्वार कृष्णप्रसाद सिटौलाले परिवर्तनको मुद्धालाई स्थापित गर्ने सामथ्र्य कानुन व्यवसायीसित रहेको बताउनुभएको छ ।
डेमोक्रेटिक लयर्स एसोसिएसन नेपालको २७ औं स्थापना दिवसको अवसर पारेर झापाको चन्द्रगढीमा मंगलबार आयोजित “संविधान कार्यान्वयन आजको आवश्यकता” विषयक अन्र्तक्रियात्मक कार्यक्रमलाई सम्बोधन गर्दै सिटौलाले संघीयता, लोकतन्त्र र गणतन्त्र स्थापित गर्न परिवर्तन विरोधीलाई जनताद्वारा तिरस्कार गर्ने वातावरण बनाउने दायित्व कानुन व्यवसायी माझ आएको बताउनुभएको हो ।
झापा वार एसोसिएसनका अध्यक्ष रहिसक्नुभएका सिटौलाले २०४६ सालको जनआन्दोलका प्रथम सहिद राम थापाको हत्या गर्ने, २०६२/६३ को आन्दोलन दवाउन सुरज विश्वास र राजन गिरीमाथि गोली वर्षाउने योजनाकारलाई परिवर्तनका पक्षधर एमाले, माओवादीले समर्थन गर्नु आश्चर्य भएको बताउदै माथिल्लो नेतृत्वको गल्ती तलका कार्यकर्ताले सच्याउने दिन आएको उल्लेख गर्नुभयो ।
सहिदका सपना र परिवर्तनका रेखा मेटिने अवस्था कसैले सिर्जनागर्न नहुने बताउदै नेता सिटौलाले वर्तमान संविधान कार्यान्वयन गर्न कानुनी ज्ञान भएको सक्षम परिवर्तनको अनुयायी आवश्यक रहेको उल्लेख गर्नुभयो ।
उहाँले सूर्य चिन्ह र हँसिया हतौडका उम्मेद्वार नरहेकोले परिवर्तनका पक्षधरले झापा ३ मा आफूलाई मत दिएर विजयी गराउने विश्वास व्यक्त गरे ।
डि एल ई झापाकी अध्यक्ष यज्ञलक्ष्मी चौलागाईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रेस युनियन झापाका सभापति कृष्ण हुमागाई, कर्मचारी युनियनका अध्यक्ष कविन्द्रविक्रम नेङमाङ, वरिष्ठ अधिवक्ता कालिप्रसाद सञ्जेल, लेखनाथ निरौला, प्रा. डा. पृथ्वीविक्रम राई, सहप्राध्यापक शुभलक्ष्मी राई लगायतले वर्तमान संविधानको मर्म र भावना अनुरुप परिवर्तनका पक्षधर एक भएर हिड्नु पर्ने भएकोले आसन्न निर्वाचनमा नेता सिटौलालाई विजयी गराउन सबै सामाथ्र्य परिचालन गर्नुपर्ने बताउनुभयो ।
क्षेत्र ४ मा पनि बढ्यो चुनावी सरगर्मी
यसगैरी आगामी मंशिर २१ गते हुने निर्वाचनमा जित निश्चित पार्न झापा क्षेत्र नम्बर ४ का कांग्रेस उम्मेद्वारहरुले प्रचार प्रसार तिब्र पारेका छन् । क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा उम्मेद्वार देउमान थेवे र प्रेदशसभा ख का उम्मेद्वार उत्तम सुवेदी सहितको टोलीले आज झापा गाउँपालीकास्थित बिभिन्न ठाउँमा पुगेर कोणसभा तथा घरदैलो कार्यक्रम सम्पन्न गरेको छ ।
कोणसभामा बोल्दै प्रतिनिधिसभा उम्मेद्वार थेवेले मधेसी, आदिवासी लगायत सबै समुदायको अधिकार सुनिश्चितताका लागि कांग्रेसलाई जिताउनु पर्ने बताउनु भयो । कांग्रेसले जिते मात्रै पिछाडि पारिएका समुदायको अधिकार स्थापित हुने भन्दै थेवेले बाम गठबन्धनले जिते लोकतन्त्रनै मासिने चिन्ता व्यक्त गर्नु भयो । लोकतन्त्रनै मासिए पछि कसै पनि आफ्नो अधिकारको कुरा गर्न नपाउने भन्दै मुलुकको समग्र बिकाशको लागि कांग्रेसले जित्नु पर्ने धारणा राख्नु भयो । कोणसभामा प्रदेशसभा ख का उम्मेद्वार
सुवेदीले अधिनायकबादलाई हराउनको लागि कांग्रेसको बिकल्प नभएको बताउनु भयो ।
उता क्षेत्र नम्बर ४ अन्तर्गत प्रदेशसभा क का उम्मेद्वार किरण भट्टराईले शिवसताक्षि नगरपालीकाको धरमपुर क्षेत्रमा कोणसभा तथा घरदैलो कार्यक्रम सम्पन्न गर्नु भएको छ । घरमपुरको मंगलबारे, बेगडुग्रा लगायतका ठाउँका मतदाताहरुको घर घरमा पुगेर भोट माग्नु भएको हो ।
क्षेत्र ५ मा छ, रौनक
यता नेपाली कांग्रेस झापा क्षेत्र नम्बर ५ ले आज पनि निर्वाचन प्रचार तथा घरदैलो कार्यक्रमलाई निरन्तरता दिएको छ ।
एमाले अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको विरुद्ध नेपाली कांग्रेसबाट मैदानमा उत्रिनुभएका प्रतिनिधिसभा उम्मेद्वार खगेन्द्रपाण्डव अधिकारी यसपटक यो क्षेत्रमा चारतारे झण्डा फराउने संकल्प लिएर हिड्र्नुभएको छ ।
उहाँले यो निर्वाचनमा देखिएको कम्युनिष्ट गठबन्धनले उनीहरुको असली रुप उदांगो पारेको उल्लेख गर्दै संसारमा असफल भैसकेको कम्युनिष्ट शासन नेपालमा ल्याएर नेपाली जनताले ७० बर्षको संघर्षले ल्याएको उपलब्धिलाई समाप्त गर्ने खेलको नेतृत्व गर्ने एमाले अध्यक्ष ओलीलाई पराजित गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । प्रनितिधिसभा उम्मेद्वार अधिकारीले आगामी निर्वाचन लोकतन्त्र र अधिनायकबाद बिचको लडाई भएकोले लोकतन्त्रको रक्षाको लागि कांग्रेसलाई भोट दिनु पर्ने बताउनु भयो ।
चुनावी सभाहरुमा उम्मेद्वार अधिकारीले यस क्षेत्र बाट पटक पटक एमालेका उम्मेद्वारलाई जिताउँदा पनि विकास नभएकोले विकासको लागि एकपटक नेपाली कांग्रेसलाई जिताएर मौका दिन मतदाताहरु समक्ष आग्रह गर्नुभएको छ ।
प्रतिनिधिसभाका उम्मेदवार अधिकारी, प्रदेशसभा ख का उम्मेद्वार राजनबहादुर ढुंगाना सहितको टोलीले मंगलबार दमकको वडा नम्बर ४ का बिभिन्न ठाउँमा पुगेर कोणसभा गर्दै घर घर मा मत माग्ने क्रम जारी राखेको कांग्रेस महासमिति सदस्य शेरबहादुर भट्टराईले जानकारी दिनुभएको छ ।
उता क्षेत्र नम्बर ५ प्रदेश क का उम्मेद्वार अनिलकृष्ण प्रसाईंले पनि आज गौरादह नगरपालीका र गौरिगञ्ज गाउँपालीकाका बिभिन्न ठाउँमा पुगेर घरदैलो कार्यक्रम सम्पन्न गर्नु भएको छ ।
क्षेत्र नं २ का प्रतिनिधिसभामा नेपाली कांग्रेसका उम्मेद्वार उद्धव थापाले पनि आफ्नो चुनावी अभियान तेज बनाउनुभएको छ । उहाँले पहिलो चरणको कार्यकर्ता भेटघाट र प्रचार कार्यालय स्थापनाको काम सकिसकनुभएको नेपाली कांग्रेस झापाले जानकारी दिएको छ ।