तेह्रथुम । श्रम गरे आफ्नै गाउँ ठाउँमा बसेरै मनग्ये कमाई गर्न सकिन्छ भन्ने उदाहरण बन्नुभएको छ, हमरजुङ–७ का ४७ वर्षे अमरकृष्ण बस्नेत । छ वर्ष मलेशिया बस्दा निकै दुःख पाउनुभयो उहाँले । घर जग्गा धितो राख्दै होस् या तीन टक्के व्याजमा ऋण काढेर होस्, धन कमाउने सपना बोकेर विदेश पुगेका नेपालीका सुख दुःख पनि संगसँगै भोग्नुभयो उहाँले ।

‘विदेश पुगेपछि गर्ने दुःख स्वदेशमै गरे त्यहाँ भन्दा राम्रो कमाई गर्न सकिने रहेछ, उहाँ भन्नुहुन्छ । बस्नेतले मलेसियाबाट फिरेपछि अहिले गाउँमै खेर गइरहेको दुधको सदुपयोग गर्दै छथर दुग्ध परिकार उद्योग खोल्नुभएको छ । सुरुमा अन्य ४ जना साथीहरुसँग मिलेर खालेको उद्योग उहाँले एक वर्षदेखि आफ्नै एकलौटी बनाएर चलाइरहनुभएको छ ।

‘विदेशबाट फिर्दा हातमा थोरै पैसा थियो, उहाँ भन्नुहुन्छ, ‘तर त्यो भन्दा धेरै दिमागमा चेत खुलेको थियो कि विदेशभन्दा स्वदेश नै जाति छ ।’ मलेसिया पुग्दा भोगेका दुःख सम्झँदै बस्नेतले उहाँ कहाँ पुग्ने कसैलाई पनि विदेसिने सल्लाह दिनुहुँदैन । उहाँ भन्नुहुन्छ, ‘विदेश के का लागि जाने ? यदि पैसाकै लागि हो भने त्यहाँ गर्ने दुःख यही गर्दा त्यसको दोब्बर कमाउन सकिन्छ ।’ उहाँले गाउँका केही राहदानी बनाइसकेका युवालाई समेत स्वदेशमै केही गर्नुपर्छ भनेर सम्झाएर कृषि पेशामा आवद्ध गराएको सुनाउनुभयो ।

बस्नेतको दुग्ध परिकार उद्योगबाट हाल छुर्पी, नौनी, र पनिर उत्पादन हुन्छ । उद्योगबाट मासिक करिब ७ क्विन्टल छुर्पी, ४ सय केजी बढी नौनी उत्पादन हुने गरेको उहाँले बताउनुभयो । पनिर भने अर्डर बमोजिम मात्रै बनाइन्छ । उत्पादित छुर्पी र नौनीकालागि बजारको कुनै समस्या छैन, घरैबाट विक्री हुन्छ ।

उहाँले उत्पादन गरेको छुर्पी इटहरी हुँदै काठमाडौँ भएर अमेरिकातर्फ निर्यात हुन्छ भने नौनी ऊर्लाबारी, विराटनगर, धरान लगायत शहरहरुमा खपत हुन्छ । तर विक्री गर्न कही जान पर्दैन उहाँलाई । ‘उत्पादित सामाग्री घरैबाट खपत् हुन्छ, मुल्य पनि सन्तोषजनक नै छ ।’ उहाँले भन्नुभयोे । हाल बस्नेतले छुर्पी घरैबाट ८ सय ५० रुपैयाँ केजी र नौनी प्रति केजी साढे पाँच सय रुपैयाँमा विक्री गरिरहनुभएको छ ।

बस्नेतको उद्योगबाट मासिक सरदर ७ लाख रुपैयाँ कमाई हुन्छ । त्यसबाट सबै खर्च कटाएर ६० देखि १ लाख सम्म बचत हुने गरेको उहाँले बताउनुभयो । गाउँमा उत्पादित दुध जिल्ला बाहिर निर्यात गर्दा उचित मुल्य नपाएपछि उद्योग खुल्ने ऊर्जा मिलेको उहाँले बताउनुभयो । उहाँले किसानबाट सिधै र नजिकको छथर दुग्ध चिस्यान केन्द्रबाट दुध खरिद गरिरहनुभएको छ । उहाँले प्रति लिटर ४५ रुपैयाँले दुध खरिद गर्नुहुन्छ ।

उहाँको उद्योगमा दैनिक ६ सय लिटर सम्म दुध खपत हुन्छ । उद्योगमा बस्नेतको करिब ७ लाख रुपैयाँ लगानी छ । बस्नेतको उद्योगमा दूध उमाल्ने, फटाउने, छान्ने, मेसिनमा पेल्ने, क्रिम काट्ने, आगोमा सुकाउने, काटेर टुक्रा पार्ने लगायतका काममा चार जनालाई रोजगारी समेत मिलेको छ । कामदारलाई खाना, खाजा र बाससहित १५ हजार रुपैयाँ सम्म तलब सुविधा दिएको बस्नेतले बताउनुभयो ।

बस्नेत आफैँ पनि उद्योगमा काम गर्नुहुन्छ । परदेशमा दुःख गरेकै हो, उहाँ भन्नुहुन्छ, त्यहाँ रहँदा जे पनि गर्न मिल्ने अनि स्वदेशमा चाँहि गर्न नहुने भन्ने गलत संस्कार छ । उहाँले कुनैपनि काम सानो ठुलो नहुने बताउनुभयो । विदेशमा गर्ने दुःख स्वदेशमै गरे मनग्ये कमाई सँगै अरुकोलागि प्रेरणाको श्रोत समेत बन्न सकिने उहाँले सुनाउनुभयो ।

तपाईको प्रतिक्रिया