तेह्रथुम । पूर्वका पहाडी शहरहरुमा हरेक वर्ष फरक–फरक प्रकृति र पहिचान बोकेका स्तम्भहरु निर्माण भइरहेका छन् । स्थानीय बजार क्षेत्रको आ–आफ्नो विशेषतासँग जोडेर स्तम्भ निर्माण गर्ने लहर नै चलेको छ । सुनसरीको धरानबाट माथि उक्लिएपछि यस्ता पहिचानका स्तम्भ एकपछि अर्को गर्दै लहरै देख्न पाइन्छन् ।

पर्यटकीय शहर धनकुटाको भेडेटार, हिले, तेह्रथुमको बसन्तपुर, लसुने र संखुवासभाको मुढेशनिश्चरे बजारमा यसअघि नै स्तम्भ बनिसकेका छन् । भेडेटारमा शंख, हिलेमा तोङ्वा, लालीगुराँस नगरपालिकाको बसन्तपुर गुराँसको रुख, लसुनेमा लसुनको पोटी र शनिश्चरेमा यलम्बरको स्तम्भ बनाइएका छन् । आठराई गाउँपालिकाको सक्रान्तिबजारमा पनि फाल्गुनन्दको स्तम्भ बनेको छ । सदरमुकाम म्याङलुङ्गमा पनि पहिचान झल्काउने ‘बिरालो’ को स्तम्भ बन्दैछ ।

धनकुटाको सिधुवा बजारमा पनि बन्दागोभीको स्तम्भ बनाउने तयारी छ । विभिन्न अवसरमा यी बजारमा आइपुग्ने आगन्तुकलाई स्थानीय पहिचानबारे सहजै अनुमान लगाउन सहज होस् र उनीहरुलाई आकर्षण पनि गरोस् भन्ने ध्येयले यस्ता स्तम्भहरु निर्माण भइरहेका छन् । आन्तरिक तथा बाह्य पर्यटक ‘अफ सिजन’ मा पनि आकर्षित गरिरहन स्थानीयबासीले यो फरक शैली अपनाइएका हुन् ।

पूर्वी तराईबाट पहाडको पहिलो गन्तव्यमा रहेको भेडेटारमा स्थानीयले शंखको आकृति ठड्याएका छन् । कोदोबाट बनाइएको स्वादिलो तोङवाका कारण कहलिएको हिले बजारमा स्थानीयबासी युवाको समूह ‘सयात्रा युवा क्लब’ ले ९ लाख रुपैयाँभन्दा बढी खर्च गरेर देशकै ठूलो र कलात्मक तोङवाको स्तम्भ निर्माण गरेको छ । यही तोङवाका कारण बाहिरबाट आउनेले हिलेलाई तोङवाको सहरका नामले चिन्न थालेको धनकुटा जिविसका पूर्वसभापति धर्म पौडेलले बताउनुभयो ।

हिले पुछार बसपार्कमा निर्माण गरिएको २२ फिट अग्लो कलात्मक तोङवा हिले बजारमा पहिलोपटक आउनेका लागि आकर्षण लाग्ने गरेको छ । एकै ठाउँमा २८ प्रजातिका गुराँस फुल्ने तीनजुरे मिल्के जलजले (टिएमजे) को प्रवेशद्वार वसन्तपुरमा निर्माण गरिएको फुलिरहेको गुराँस स्तम्भले पनि यस क्षेत्रमा पर्यटक लोभ्याइरहेको छ । स्तम्भ निर्माणपछि देशविदेशका गुराँसप्रेमी वसन्तपुर आएर बाह्रै महिना फुलिरहेको गुराँसमा रमाउन थालेको निर्माण समिति सचिव निरोज खडकाले बताउनुभयो ।

स्थानीय बासिन्दाले रकम संकलन गरी १० लाख रुपैयाँ लागतमा स्तम्भ बनाएका हुन् । गुराँस भूमि यहिबाट सुरु भएको झल्को दिन फूलसहितको गुराँस स्तम्भ निर्माण गरिएको निर्माण समितिले जनाएको छ । ‘वसन्तपुरलाई गुराँसको सहर बनाउने हाम्रो लक्ष्य हो,’ लालीगुराँस नगरपालिका मेयर अर्जुन माबोहाङले भन्नुभयो । ‘गुराँसमा पर्यटक आकर्षित गर्ने यस क्षेत्रको प्रमुख माध्यम भएकाले नगरपालिकाले चालु आवभित्रै वसन्तपुर, चित्रे, डाँडाखर्क, लसुने लगायतका सडक दायाँबायाँ बिरुवा रोपिने मेयर माबोहाङले बताउनुभयो । ’

पर्यटक आकर्षित गर्नकै लागि वसन्तपुरबासीले केही माथिको तीनजुरे पहाड फेदीमा रहेका ढुंगालाई कुँदेर बाघ, कछुवा, गोही, भ्यागुतो, छेपारो, मृग, सर्प, हिमाली याक, चौंरी गाई, हिमाल, सीताले लगाएको साडी, जाँतो लगायतका कलात्मक मूर्ति बनाइएको छ । २५ लाख रुपैयाँभन्दा बढी खर्च गरेर यी वस्तु निर्माण गर्नुको प्रमुख उद्देश्य पर्यटक आकर्षित गर्नु रहेको स्थानीयबासी बताउँछन् ।

लालीगुराँस नगरपालिकाकै लसुने बजारको बीचभागमै लसुनको पोटी आकारको आकर्षक स्तम्भ छ । यो बजारमा आइपुग्ने जो कोही पनि लसुनको पोटीसँग तस्विर खिचाउन लालायित हुन्छन् । स्थानीय किसानले लसुन खेती लगाएर बेच्न प्रयोग गर्ने क्षेत्रमा बजार विकास भएपछि बजारको नामनै लसुने राखिएको थियो । त्यहि पहिचान झल्काउने र पर्यटक आकर्षित गर्ने ध्येयले स्तम्भ निर्माण गरिएको निर्माण समितीका अध्यक्ष धर्मराज खड्काले बताउनुभयो ।

यस्तै कोशी राजमार्गको अन्तिम विन्दुको रुपमा रहेको तेह्रथुम सदरमुकाम म्याङलुङ्गमा पनि पहिचान झल्काउन विरालो स्तम्भ निर्माण गरिदैछ । ‘म्याङलुङ’ शब्द लिम्बु भाषाबाट आएको र यसकोे ऐतिहासिक शाब्दिक अर्थ विरालो सँग जोडिएकाले विरालो स्तम्भ नै निर्माण गरेर पर्यटक आकर्षित गर्न थालिएको किराँत याक्थुङ चूम्लुङ तेह्रथुमका अध्यक्ष गणेश सेनेले बताउनुभयो । स्तम्भ निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

धनकुटाको सिधुवा बजारमा पनि बन्दागोभी आकारको स्तम्भ निर्माण हुँदैछ । बजारमा बन्दागोभीको खपत बढी हुने र बन्दागोभीको संकलन साथै निकासी हुने मुख्य बजारको रुपमा पहिचान बनाएकाले बन्दागोभीको स्तम्भ बनाउन लागिएको हो । यस्ता स्तम्भ बनेपछि ती बजारको पहिचान त्यहाँ आइपुग्ने जो कोहीले पनि छर्लङ्ग हुने गरी थाहा पाएर मात्रै फिर्ने र आकर्षित हुने बुझाई छ ।

तपाईको प्रतिक्रिया