सक्रान्ति (तेह्रथुम) । तेह्रथुमको आठराई गाउँपालिका–२, खाम्लालुङमा अवस्थित झाँक्री गुफा प्रशस्तै पर्यटकीय सम्भावना भएपनि ओझेलमा रहेको छ । गुफाको प्रचार प्रसार र पूर्वाधार विकासमा सम्बन्धित निकायको ध्यान पुग्न सकेको छैन ।
गुफासम्म पुग्नका लागि सडकको ट्रयाक खोलिएपनि सवारी सन्चालन योग्य भइसकेको छैन । कात्तिके सामुदायिक वन भित्र रहेको गुफा परिसरलाई ‘कात्तिके पर्यटन क्षेत्र’को रुपमा विकास गर्ने ध्येयले स्थानीयबासीले पहल थालेका छन् ।
परापूर्वकालमा वनझाँक्री यही गुफामा बस्ने भएकोले यसलाई झाँक्री गुफा भनिएको स्थानीयबासीको भनाइ छ । वनझाँक्रीले यस गुफामा राखेर बनाएका धाँमी, झाँक्री र बुडीबजुहरु अभैm गाउँमा रहेको बताइन्छ ।
कात्तिके सामुदायिक बन उपभोक्ता समितिकै पहलमा गुफामा सिढी निर्माण, गुफा नजिकै रहेको पोखरी सरसफाई लगायत काम गरिएको अध्यक्ष गोपी ढुंगानाले बताउनुभयो । सो कार्यकालागि तत्कालिन जिल्ला विकास समितिले २० लाख रुपैयाँ बजेट उपलब्ध गराएको र स्थानीयबासीले ४ लाख २३ हजार १ सय ८७ रुपैयाँ बराबरको श्रमदान गरेर कुल २४ लाख २३ हजार १ सय ८७ रुपैयाँ खर्च भएको छ ।


‘गुफाको प्रवद्र्धनका लागि होमस्टे, भ्यु–टावर, बिजुलीको व्यावस्था लगायत पुर्वाधार विकास गर्ने लक्ष्य लिएका छौँ, बजेटको अभाव छ,’ अध्यक्ष ढुंगानाले भन्नुभयो । सो गुफा पुग्न आठराई गाउँपालिकाको केन्द्र सक्रान्तिबजारदेखि एक घण्टा पैदल हिड्नुपर्छ । गुफाको संरक्षणको प्रयास थालिए पछि दैनिक ३०–४० जनासम्म आन्तरिक पर्यटकहरु अवलोकनका लागि आउन थालेका स्थानीयबासी सुभास गौतमले बताउनुभयो ।
गुफा परिसरमा पुर्वाधार विकास गरेर प्रचार प्रसार गर्नसके यस क्षेत्रकै उत्कृष्ट पर्यटकीय गन्तव्य बन्न सक्ने गौतमले बताउनुभयो । वरिपरि विभिन्न प्रजातिका फुलहरु साथै खुला चौर फाँटमा रहेको यस क्षेत्रका आश्चर्यजनक विशेषता छन् । समुद्र सतहबाट २२ सय मिटरको उच्चाईमा रहेको गुुफामा बादलले लुकामारी खेली रहन्छ । गुफाको परिसरबाट छिनमै आकाश उघ्रिन्छ । केही छिनमै बादलुको घुम्टोले छोप्ने गर्छ ।
गुफाको प्रवेशद्धरमा सेती देविको मन्दिर रहेको छ । चाडपर्व विशेषमा गुफाबाट नौमती बाजाका धुनहरु आउने प्रमुख विशेषता रहेको अध्यक्ष ढुंगानाले बताउनुभयो । चार तला रहेको उक्त गुफाको दुई तह सम्म सजिलै पुग्न सकिन्छ । पहिलो र अन्तिम तलाको दोस्रो र तेस्रो तलाबाट अवलोकन गर्न सकिन्छ । गुफाको संरक्षण र प्रचार प्रसारका लागि काम थालिने आठराई गाउँपालिकाका अध्यक्ष मानबहादुर लिम्बुले बताउनुभयो ।

तपाईको प्रतिक्रिया