
सो समितिलाई यहाँ आकर्षक पार्क, गार्डेन समेत निर्माण गरी प्रचारमा ल्याउन जिम्मेवारी दिइएको छ । सदरमुकाम नजिकै भएकाले गुफा हेर्न, मन्दिरको दर्शन गर्न तथा पार्कमा डुल्न, घुम्न, अवलोकन गर्नका लागि आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आकर्षित गर्न सकिने स्थानीयबासीको बुझाई छ ।
शनिबार विहान बसेको स्थानीयबासीको भेलाले व्यवस्थापन समितिको अध्यक्षमा पदम तुम्बाहाम्फे, उपाध्यक्षमा कृष्णबहाुदर कटुवाल, सचिवमा भगिश्वर लिम्बु र कोषाध्यक्षमा रामबहादुर तुम्बाहाम्फेलाई चयन गरेका छन् । समितिको सदस्यहरुमा देवीबहादुर श्रेष्ठ, मानबहादुर लिम्बु र लैनबहादुर तुम्बाहाम्फे रहेका छन् ।
नवगठित समितिले यहाँ रहेको ‘केमुक’ अर्थात् ‘टुङ्ना’ गुफा, दशकते देवीथान, महादेव हाङसाम माङ्हिम लगायत ऐतिहासिक धार्मिक क्षेत्रको सरसफाई, संरक्षण र व्यवस्थापनका लागि आर्थिक श्रोत जुटाई पुर्वाधार विकासको काम गर्ने अध्यक्ष तुम्बाहाम्फेले बताउनुभयो । साथै यो क्षेत्रलाई पर्यटकीय स्थलको रुपमा विकास गर्न समेत पार्क, गार्डेन निर्माण तथा प्रचार प्रसारको काम समेत गरिने उहाँले बताउनुभयो ।
सदरमुकाम आएका मानिसहरु लाई यहाँसम्म पु¥याउन र यहाँको धार्मिक तथा ऐतिहासिकताबारे जानकारी दिँदै ती सम्पदाको संरक्षण पनि गर्न सकिने भएकाले स्थानीयबासी एकजुट भएको समितिका सचिव भगिश्वर लिम्बुले बताउनुभयो । यसअघि सो गुफा तथा मन्दिर परिसरसम्म पुग्ने गोरेटो बाटो नेपाली सेनाले निर्माण गरिदिएको थियो ।
यसैबीच गुफामा प्रवेश गर्नका लागि असजिलो रहेको ठाउँमा म्याङलुङ्गका व्यवसायी गोकुल सुवेदीले फलामको भ¥याङ निःशुल्क दिनुभएको छ । गुफाको संरक्षण र व्यवस्थापन गरी पर्यटकीय स्थल बनाउने अभियानमा स्थानीयबासी जुटेको थाहा पाएपछि गुफा प्रवेशका लागि सहज होस् भनेर भ¥याङ उपलब्ध गराएको व्यवसायी सुवेदीले बताउनुभयो ।