तेह्रथुम, ६ मंसिर । जिल्लाको लालीगुराँस नगरपालिका–९, ढाँडेस्थित तीन छाँगे झरनामा आन्तरिक तथा बाह्य पर्यटक भित्राउन स्थानीयबासी संगठित भएका छन् । गाउँ नजिकै रहेका तीन छाँगे झरना र शिवथान मन्दिरको संरक्षण गर्दै आवश्यक पुर्वाधार विकास र प्रचार प्रसार गरी संयुक्त रुपमा आन्तरिक तथा बाह्य पर्यटक भित्राउन स्थानीयबासी संगठित भएका हुन् ।
उनीहरुको भेलाले ललितबहादुर लिम्बुको अध्यक्षतामा १३ सदस्यीय तीन छाँगे–शिवथान पर्यटन प्रवद्र्धन समिति गठन गरेका हुन् । समितिको उपाध्यक्षमा सुर्जकुमारी लिम्बु, सचिवमा नेत्रकुमार लिम्बु र कोषाध्यक्षमा वौद्धराज लिम्बु रहनुभएको छ । घर नजिकै रहेको पर्यटकीय स्थलसमेत ओझेलमा परेको भन्दै स्थानीयहरु संगठित भएका स्थानीयबासी समेत रहनुभएका नेपाल पत्रकार महासंघ तेह्रथुम शाखाका उपाध्यक्ष भगिश्वर लिम्बुले बताउनुभयो ।
समितिले पर्यटकीय क्षेत्रको विकास र प्रचार प्रसारका लागि संस्थागत रुपमा विद्यान तयार गर्दै अघि बढ्ने बताएको छ । हालै स्थानीयबासीको श्रमदानबाटै तीन छाँगे झरनासम्म पुग्न गोरेटो बाटो निर्माण गरेका थिए । अहिले झरनासम्म साप्ताहिक रुपमा सयौँको संस्यामा मानिसहरु पुग्ने गर्दछनन् । सदरमुकाम नजिकै रहेको जिरिखिम्ती बजारदेखि करिब १ घण्टाको पैदल दुरीमा झरना रहेको छ ।
झरना नजिकै ऐतिहासिक शिव धाम रहेको छ ।
पिंगुवा खोलाको बीच भागमा रहेको एक ढुंगाको गुफाभित्र रहेको शिव धाममा विभिन्न देवताहरुको आकृतिसमेत देख्न सकिन्छ । लालीगुराँस नगरपालिकामा घुम्न आउने पर्यटकहरुलाई अर्को गन्तव्यको रुपमा झरना र शिव धामलाई विकास गर्न सके पर्यटकहरुको राम्रो गन्तव्य बन्न सक्ने सम्भावना रहेको छ ।