बुटवल, ६ मंसिर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाँणले ब्यालेटबाट कम्युनिष्ट शासन व्यबस्था आउन नसक्ने बताउनु भएको छ । उहाँले व्यालेटबाट कम्युनिष्ट शैलीको शासन व्यबस्था ल्याउने सपना नदेख्न पनि एमाले माओवादीलाई सल्लाह दिनुभयो ।

आसन्न निर्वाचनका लागि एमाले माओवादीको बाम गठबन्धनले उद्योगी व्यबसायी तथा आम नागरिकलाई ठूलो सन्त्रास पैदा गराएको बताउँदै उहाँले एमाले माओवादी गठबन्धनको सन्त्रासबाट कत्तिपनि विचलित नहुन आग्रह गर्नुभयो ।  पूर्व मन्त्री समेत रहनु भएका नेता खाँणले नेपाली काँग्रेस कमजोर हुँदा राष्ट्रियता, लोकतन्त्र पनि कमजोर हुने र शान्ति प्रकृयामा पनि बाधा व्यबधान आउने बताउँदै राष्ट्रियता, लोकतन्त्र र शान्ति प्रकृयालाई मजबुद बनाउन नेपाली काँग्रेस बलियो हुनु पर्ने भनाई राख्नुभयो ।

नेपाली काँग्रेस निर्वाचन परिचालन समिति केन्द्रीय मतदान प्रशिक्षण समन्वय उपसमितिको आयोजनामा मंगलबार बुटवलमा भएको मतदान प्रशिक्षण कार्यक्रममा बोल्दै नेता खाँणले काँग्रेसको जनआधार र माहौल बनेको देखेकै कारण बाम गठबन्धन गरेको उल्लेख गर्नुभयो । उहाँले एमाले माओवादीको कम्युनिष्ट शासन व्यबस्था ल्याउने कुराले सामान्य तटस्त मतदातामा ठूलो सन्त्रास फैलिएको बताउँदै भन्नुभयो–‘कम्युनिष्ट शैलीको शासन व्यबस्था व्याटेटबाट आउँदैन, बन्दुकबाट आउँछ ।’

नेता खाँणले आसन्न प्रतिनीधि तथा प्रदेश सभा निर्वाचनमा प्रत्यक्ष तर्फ ३८ प्रतिशत सिटमा नेपाली काँग्रेसले जित्ने दावी गर्नुभयो । उहाँले १६५ सिट प्रतिनीधि सभामा नेपाली काँग्रेसले ८० सिटमा जित हासिल गर्ने दावी गर्दै बदर रोक्न सके यो संख्या पनि ह्वात्तै बढ्ने जिकिर गर्नुभयो । समानुपातिकमा ४५ प्रतिशत नेपाली काँग्रेसले ल्याउने दावी गर्दै लोकतानित्रक गठबन्धनबाट पनि सबै ठाउँमा जित हासिल गरे नेपाली काँग्रेसले सजिलै सरकार बनाउने नेता खाँणले उल्लेख गर्नुभयो ।

निर्णायक राजनीतिक घटनाक्रममा नेपाली काँग्रेसले नै नेतृत्वदायी भूमिका निर्वाह गरेको र जारी संविधान पनि नेपाली काँग्रेसकै नेतृत्वमा जारी भएकाले संविधानको कार्यान्वयन गर्ने दायित्व पनि नेपाली काँग्रेसकै भएको उहाँले उल्लेख गर्नुभयो । उक्त प्रशिक्षण कार्यक्रममा पाँच नम्बर प्रदेशका बिभिन्न जिल्लाबाट १७० जना सहभागि थिए । उनीहरुलाई नेपाली काँग्रेस महाधिवेशन प्रतिनीधि अधिवक्ता अनिता शर्माले प्रशिक्षण गर्नुभएको केन्द्रीय मतदात प्रशिक्षण समन्वय उपसमितिका सदस्य कुलप्रसाद लामिछानेले बताउनु भयो ।

तपाईको प्रतिक्रिया