तेह्रथुम, ६ मंसिर । तेह्रथुमको छथर गाउँपालिकाले विभिन्न सरकारी संरचना निर्माणका लागि पायक पर्ने स्थानमा निःशुल्क जग्गा दान गर्न आव्हान गरेको छ । सरकारी संरचना निर्माणपछि आसपासमा बजार विस्तार हुने भन्दै गाउँ गाउँमा समेत स्थानीयबासीले सरकारलाई जग्गा दिन लालायित हुने गरेका छन् ।

गाउँपालिका क्षेत्रभित्र गाउँपालिकाको कार्यालय भवन, वडा कार्यालय भवन, स्वास्थ्य चौकीका लागि भवन, खेलमैदान, कबर्ड हल, बसपार्क निर्माण, चिल्ड्रेन पार्क लगायत पुर्वाधार निर्माण गर्न आवश्यक जग्गा पायक पर्ने स्थानमा निःशुल्क प्रदान गर्न बाटो खुला गरेको हो ।

सरकारी संरचना निर्माणका लागि आसपासमा ऐलानी जग्गा नभएको क्षेत्रका बासिन्दाले जग्गा दिन सक्ने गाउँपालिकाका अध्यक्ष सन्तवीर तिगेलाले बताउनुभयो । पाँच वर्षभित्र गाउँपालिकालाई नमुना पर्यटकीय गन्तव्य बनाउने लक्ष्यसहित पुर्वाधार निर्माणको काम थाल्न लागिएको अध्यक्ष तिगेलाको भनाई छ ।

यस्तै गाउँकार्यपालिकाको बैठकले आफ्नो क्षेत्र भित्रका सुख्खाग्रस्त गाउँका बासिन्दालाई खानेपानीको सुविधा पु¥याउन खानेपानी तथा पुर्ण सरसफाई समिति गठन गरेको छ । छथर गाउँपालिकाका साविकका पन्चकन्या, फाक्चामारा, ओख्रे, सुदाप, आङ्दिम र हमरजुङ गाउँका बासिन्दा पानी अभावकै कारण वर्षेनि थात्थलो छाडेर बसाई हिड्न बाध्य छन् ।

यस्तै गाउँपालिकाले योजना सन्चालन तथा परिचालन निर्देशिका पारित गर्दै चालु आर्थिक वर्षमा सन्चालन हुने पाँच लाख रुपैयाँ मुनिका योजनाहरु गाउँपालिकामा सम्झौता गरी यथासिघ्र सन्चालन सुरु गर्ने निर्णय गरेको छ ।

तपाईको प्रतिक्रिया