तेह्रथुम, ६ मंसिर । तेह्रथुमको लालीगुराँस नगरपालिकाले आर्थिक वर्ष २०७४÷०७५ कालागि साढे २६ करोड रुपैयाँ बढीको बजेट सार्वजनिक गरेको छ । स्थानीय चुनाव पछि पहिलो पटक जनप्रतिनिधिको सहभागितामा भएको नगर सभाले पाँच वर्षभित्र समृद्ध नगरपालिका बनाउनका लागि २६ करोड ७० लाख ३९ हजार ८ सय ७० रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको हो ।

नगर सभालाई सम्बोधन गर्दै लालीगुराँस नगरपालिकाका मेयर अर्जुनबाबु माबोहाङले नगरपालिकालाई समृद्ध र नयाँ शहर निर्माणको अभियान सहित पुर्वाधार विकास, पर्यटन, कृषि र आधुनिक शिक्षा लगायत एजेण्डाहरुलाई प्राथमिकतामा राख्दै २६ करोड ७० लाख रुपैयाँ बढीको बजेट सार्वजनिक गर्नुभएको हो ।

जसमा संघीय सरकारबाट प्राप्त वित्तीय शर्तसहितको वित्तीय अनुदान ९ करोड ३२ लाख ४२ हजार, समानीकरणतर्फ १५ करोड, आन्तरिक आयतर्फ ३६ लाख ९१ हजार १ सय ३६ रुपैयाँ, स्थानीय स्वायत्त शासन तथा सामुदायिक विकास कार्यक्रमतर्फ १५ लाख २५ हजार, सडक बोर्डको २५ लाख र राजस्व बाँडफाँडतर्फ १५ लाख तथा गत आर्थिक वर्षको अल्या वापतको १ करोड ४५ लाख ८१ हजार ७ सय ३४ रुपैयाँ बजेट रहेको छ ।

त्यसमध्ये पुर्वाधार विकासतर्फ सवारी साधन तथा यान्त्रिक उपकरण खरिदका लागि १ करोड ६४ लाख २५ हजार, सडक निर्माण तथा स्तरोन्नतिका लागि २ करोड १० लाख ७० हजार, खेलमैदानकालागि १६ लाख ४० हजार, भवन निर्माणका लागि ४९ लाख ३० हजार, खानेपानी व्यवस्थापनका लागि २६ लाख ९५ हजार रुपैयाँ विनियोजन गरेको छ ।

यस्तै कृषि क्षेत्रका लागि ३५ लाख ४५ हजार, धर्म, संस्कार संस्कृति संरक्षणका लागि ११ लाख २० हजार, पर्यटन विकास तथा प्रवर्धनका लागि ५८ लाख, शिक्षा क्षेत्रतर्फ ४७ लाख १५ हजार, स्वास्थ्य क्षेत्रतर्फ १९ लाख ५० हजार, आदिवासी जनजाति तर्फ १७ लाख, पुस्तकालय निर्माणका लागि १२ लाख ५० हजार, खेलकुदका लागि १६ लाख ७५ हजार रुपैयाँ विनियोजन गरेको मेयर माबोहाङले बताउनुभयो ।

तपाईको प्रतिक्रिया