तेह्रथुम, ५ मंसिर । नेपाली कांग्रेस तेह्रथुमका नेता तथा पुर्वसांसद तुलसी सुब्बाले लोकतन्त्रको रक्षाका निमित्त कांग्रेस नेता कार्यकर्ताहरु एक ढिक्का भएर चुनावमा होमिएको बताउनुभएको छ ।

छथर गाउँपालिकाको केन्द्र शुक्रबारे बजारमा मंगलबार भएको अगुवा कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रममा बोल्दै कांग्रेस महासमिति सदस्य सुब्बाले जनताको अधिकार सुरक्षित गर्न कांग्रेसको विकल्प नभएको बताउनुभयो । उहाँले कांग्रेसको नेतृत्वमा २००७ सालदेखि अहिलेसम्मका परिवर्तनहरु सम्भव भएको भन्दै कांग्रेसकै नेतृत्वमा बनेको संविधान कार्यान्वयन गरेर समृद्धिको अभियान पनि कांग्रेसकै नेतृत्वमा हुने बताउनुभयो ।

उहाँले कार्यकर्ताहरुलाई पार्टीभित्र भएका हिजोका सानातिना गल्ती कमजोरीहरुलाई सच्याउदै अब व्यक्तिगत स्वार्थ भन्दामाथि उठेर लोकतन्त्रको रक्षा र पार्टी बचाउने बेला भएको बताउनुभयो । उहाँले पार्टी रहेमात्र नेता कार्यकर्ताको भविष्य सुरक्षित हुने समेत धारणा राख्नुभयो ।

तेह्रथुममा बामपन्थीहरुले ०४६ सालपछि निरन्तर शासन गरेको तर विकास निर्माणले गति लिन नसकेको तितो यथार्थ रहेको भन्दै नेता सुब्बाले अब तेह्रथुमको विकास निर्माणको ढोका खोल्न कांग्रेसका विद्धान्, शिक्षित र सबल युवा उम्मेदवारहरुलाई विजयी गराउन आग्रह गर्नुभयो ।

कार्यक्रममा कांग्रेस तेह्रथुमका पुर्वजिल्ला सभापति रामनारायण ढुंगाना, छथर गाउँपालिका चुनाव प्रचार प्रसार समितिका संयोजक तथा महाधिवेशन प्रतिनिधि टेकराज तिगेला, नेपाल तरुण दलका जिल्ला अध्यक्ष विपिन निङ्लेकु लगायत नेताहरुले आ–आफ्नो धारणा राख्नुभएको थियो । कार्यक्रम नेपाली कांग्रेस छथर गाउँपालिका स्तरीय चुनाव प्रचार प्रसार समितिका संयोजक भीमबहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया