तेह्रथुम । नेपाली कांग्रेसका जिल्ला सभापति तथा आसन्न निर्वाचनमा प्रदेश सभा (क) क्षेत्रका उम्मेदवार गोविन्द ढुंगानाले बाम–गठबन्धनको कुनै औचित्य नभएको बताउनुभएको छ । उहाँले सत्ता लालचीका कारण वामपन्थीहरुले एकताको नाटक रचेको भन्दै अहिले अहिले मुलुकलाई बाम–एकताको नभई राष्ट्रिय एकताको खाँचो रहेको आरोप लगाउनुभयो ।

उहाँले बाम–गठबन्धनका नाममा एमाले र माओवादीले मतदातालाई धोका दिएको समेत बताउनुभयो । बामपन्थीहरुले हिजो हजारौँ सपना बाँडेर आज ती आश्वासनहरु पुरा नहुँदै अर्को नयाँ सपना देखाउँदै झुक्याएको आम मतदातामाझ छर्लङ्ग रहेको उहाँको भनाइ थियो । कांग्रेस सभापति ढुंगानाले जिल्लाको प्रमुख शत्रुको रुपमा रहेको गरिबी, अशिक्षा, भौगोलिक विकटता जस्ता समस्याहरुको समाधानका लागि कांग्रेसले दुरगामी योजनासहित चुनावी अभियानमा मतदातामाझ पुगिरहेको धारणा राख्नुभयो ।

कार्यक्रममा नेपाली कांग्रेस म्याङलुङ्ग नगर सभापति प्रेम तुम्बाहाम्फे, लालीगुराँस नगरसभापति अर्जुन माबोहाङ लगायत नेताहरुले मन्तव्य राख्नुभएको थियो । चुनावी अभियानको क्रममा नेपाली कांग्रेसको नयाँ नीति, घोषणा पत्र, कार्ययोजना तथा शिक्षित र बौद्धिक उम्मेदवारहरु प्रति आकर्षित भएर लालीगुराँस नगरपालिका–६ मा ७ जना वडा नं. ७ मा १७ जना नेता कार्यकर्ताहरु एमाले र माओवादी केन्द्र छाडेर नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

तपाईको प्रतिक्रिया