मेघराज तामाङ,

संखुवासभा । संखुवासभाको चैनपुर (शुक्रबारे) बजार देखि साँझ ५ बजे तिर भारी बोकेर घर फर्किदै थिए । चैनपुर १० खराङका खड्ग अधिकारी अदुवा बिक्रि नभएपछि निराश हुँदै घर फर्काएका हुन् । अदुवा बिक्रि गर्न उनी बिहान ६ बजे ३० केजी अदुवा बोकेर बजार गएका थिए । तर साँझ सम्ममा बिक्रि नभएपछि घर फर्काएका हुन् । उनले भने बिहान डेढ घण्टा ३० केजी भारी बोकेर गएको बाटो अहिले २६ केजी बोकेर फर्किदै छु ।

दिन भरीमा ४ केजी अदुवा बिक्रि भयो, त्यो पनि खाजा नास्ता मै सकियो, अधिकारीले बताए । प्रति केजी ३०÷३५ रुपैंयाको दरले बिक्रि गर्दा कति हुन्छ ? उनले प्रश्न गरे ।
विगत ५ वर्ष देखि अदुवा खेती गर्दै आएका उनी पोहोर सालबाट अदुवाको मूल्य गिरावट हुँदा मार्कामा परेका हुन् । पोहोर १ रोपनी जग्गामा ६ सय केजी अदुवा उत्पादन गरेर करिब सय केजी मात्र मुस्किलले बिक्रि गरेको उनले बताए । यसरी लगानी समेत नउक्सिदा अदुवामा लगानी गर्न गाउँका कृषकहरु क्रमश घट्दै गएको बताए । यो वर्ष पनि करिब ६ सय केजीको हाराहारीमा अदुवा उत्पादन भएको छ, तर अहिले सम्म सय केजी पनि अदुवा बिक्रि भएको छैन । उत्पादन भएका अदुवा सबै बिक्रि नहुने छाँट देखिएको उनी बताउँछन् ।

६ सय केजी अदुवा उत्पादन गर्न २ देखि ३ सय केजी बिउ लाग्छ, यो १० हजार बराबरको रकम हो । यत्तिका अदुवा उत्पादन गर्न कुल ५०÷६० हजार लगानी गर्न पर्ने तर कम बजार भाउ र थोरै मागका कारण अदुवा किसानका लगानी बालुवामा पानी भएको छ । ३ वर्ष अघिसम्म यहाँका अदुवा वसन्तपुर, तेह्रथुम, धनकुटा, धरान र बिराटनगर लगायतका सहरहरुमा निर्यात हुँदा लगानी डुब्ने समस्या थिएन, उनले भने ।

खराङबाट मात्रै वार्षिक ६ हजार केजी भन्दा बढी अदुवा बाहिरिने गथ्र्यो । यसले गर्दा अदुवा कृषकहरु सन्तुष्टि नै थिए । तर पोहोर देखि बाहिरी जिल्लाहरुमा अदुवाको निर्यात नभए संगै जिल्लामा निश्चित मागका कारण अदुवा बिक्रि गर्न समस्या भएको छ । खड्गमात्र हैन अदुवालाई व्यवसायिक खेती गर्ने खराङका सबैजसो कृषक अदुवा खेती छोड्न पर्ने स्थिति सिर्जना भइसकेको अर्का कृषक सूर्यकिरण भण्डारीले बताए । पछिल्लो समय कृषकहरु अदुवा खेतीमा आकर्षित भए पनि राम्रो आम्दानी गर्न नसक्दा किसानहरुमा निराशा छाएको छ ।

अदुवाको मूल्य घट्नुका कारण

अदुवा उत्पादन हुने जिल्लाका कृषकहरु बेलाबेलामा अदुवामा आएको मूल्य गिरावटले समस्यामा पर्ने गरेका छन् । उत्पादन बढी र माग कम हुनुले अदुवामा मूल्य गिरावट आउने गरे पनि बेलाबेलामा भारतले कृषिजन्य वस्तुको आयातमा लाग्ने भन्सार दर बढाउने गरेकाले अदुवाको मुल्य सस्तिएको जिल्ला कृषि विकास कार्यालयका सहायक प्राविधिक बलबहादुर विश्वकर्माले बताए ।

त्यस्तै विभिन्न समयमा बन्द हड्ताल र नाका बन्दीका कारण उत्पादित अदुवा समयमा निर्यात गर्न नसक्दा कृषकहरु थोरै मुल्यमा बिक्र गर्न बाध्य हुनु परेको विश्वकर्माले प्रस्ट पारे । जिल्लाको सवालमा बाहिरी जिल्लाबाट नै अदुवाको माग प्रसस्त नभएकाले विगतमा जस्तो अदुवाको भाउ नभएको बताउँछन् ।
उत्पादन परिमाण धेरै र कम मागका कारण उत्पादन गरिएको अदुवासमेत गोदाममा नै कुहिने गरेको छ ।

व्यवसाय परिवर्तन
अदुवालाई मुख्य व्यवसायका रुपमा खेती गर्दै आएका कृषकहरु राम्रो लाभ नभएपछि व्यवसाय नै परिवर्तन गर्न थालेका छन् । पटकपटकको लगानी डुबे पछि उनीहरु विकल्पका रुपमा अन्य व्यवसाय रोज्न थालेका छन् । ४ वर्ष अदुवा खेती गरेका भीम भट्टराई कुखुरा पालन गर्न लागेका छन् । दुई वर्ष अदुवाबाट राम्रै आम्दानी गरेका उनी पछिल्लो दुई वर्षमा आम्दानी समेत गुमाए पछि उनीे कुखुरा पालनमा लागेका हुन् ।

अहिले उनको फार्ममा २ सय कुखुराहरु छन् । स्थानीय जातका कुखुरालाई व्यवसायका रुपमा सुरु गर्ने उनी खराङका पहिलो व्यक्ति हुन् । स्थानिय बजारमा समेत लोकल कुखुराको उच्च माग र मुल्य रहेकाले व्यवसाय फेरेको उनी बताउँछन् । व्यवसाय भरखरै सुरु भएपनि कुखुराबाट राम्रो आम्दानी गर्न सकिनेमा उनी विशवास छन् । त्यस्तै खराङमा नै सबै भन्दा पहिले अदुवा खेतीको विस्तार गरेका खड्गबहादुर अधिकारी विगत एक वर्ष देखि दुग्ध व्यवसाय गर्दै आएका छन् । अदुवाको बजार मुल्य र बढ्दो माग देखेपछि गाउँमा अदुवा खेतीको विस्तार गरेका थिए ।

तर ८÷९ वर्षसम्म गरेको व्यवसायले खासै उपलब्धि नभएपछि उनले दुधको व्यवसाय सुरु गरेका छन् । एउटा गाई बाट सुरु गरेको व्यवसाय अहिले उनको फार्ममा ५ ओटा गाई छ । पाँच गाईमा ४ दुहुनो छ । दैनिक ४० लिटर दुध विक्रि गर्ने गरेका उनी मासिक ६०÷७० हजार आम्दानी गर्छन् । व्यवसाय परिवर्तन गरे पछि आर्थिक समृद्धी भएको भन्दै उनी खुशी व्यक्त गर्छन् ।

तपाईको प्रतिक्रिया