तेह्रथुम । चार वर्षअघि म्याङलुङ्गका युवा व्यवसायीले सहकारी स्थापनाको अभियान चलाए । त्यसो त कमाएको दुई पैसा जम्मा गर्न बैंकको खाँचो थिएनँ । धेरैको व्यवसाय चलेकै थियो । नजिकमै अन्य सहकारी पनि खुलिसकेका थिए । अहिले ती नै युवाले चलाएको अभियानबाट जन्मिएको गुराँस बचत तथा ऋण सहकारी संस्था व्यवसायीको आम्दानीको राम्रो श्रोत बनेको छ ।

‘बनौँ हामी स्वावलम्बी सधै स्वरोजगारी, आर्थिक समृद्धिका लागि गुराँस सहकारी’ भन्ने नारासहित थालेको सो अभियान अहिले सार्थक बन्दैछ । ०७० सालमा ६९ लाख रुपैयाँ शेयर पुँजी संकलन गरी सुरु भएको सो सहकारीको कुल पुँजी करिब पाँच करोड पुगेको छ । हालसम्म सहकारीको कुल पँुजी ४ करोड ९४ लाख २२ हजार २ सय ४३ रुपैयाँ पुगेको अध्यक्ष टिका खुलालले बताउनुभयो ।

संस्थाको शेयर पुँजीमात्रै ४४ लाख रुपैयाँ बृद्धि भएर अहिले १ करोड १३ लाख रुपैयाँ पुगेको छ । ६९ जनाले १–१ लाख रुपैयाँ संकलन गरेर थालेको सहकारीमा अहिले ९ सय ५४ जना शेयर सदस्यहरु आवद्ध भएका छन् । हालै भएको संस्थाको साधारण सभामा प्रस्तुत प्रतिवेदन अनुसार एक आर्थिक वर्षमा १ करोड बढी पुँजी वृद्धि भएको छ । आर्थिक वर्ष २०७३÷०७४ मा १ करोड २३ लाख ३६ हजार रुपैयाँले कुल पुँजी वृद्धि भएको अध्यक्ष खुलालले बताउनुभयो ।
सहकारीको कुल पुँजी गतवर्ष ३ करोड ७० लाख ८६ हजार १ सय ३८ रुपैयाँ मात्रै रहेको थियो ।

सहकारीको निक्षेप ३ करोड २२ लाख ८० हजार ४ सय ४३ रुपैयाँ रहेको सहकारी संस्थाका सचिव लक्ष्मीनारायण मिश्रले बताउनुभयो । यस्तै गुराँसको ३ करोड ९९ लाख ७० हजार ७ सय ७६ रुपैयाँ लगानीमा रहेको छ । सहकारीले आर्थिक वर्ष ०७३÷०७४ मा सबै खर्च कटाएर ६५ लाख ७ हजार ७४ रुपैयाँ खुद मुनाफा गरेको व्यवस्थापक मिननाथ दाहालले बताउनुभयो ।

उनका अनुसार सहकारीको एक वर्षको खर्च ६० लाख १६ हजार ८ सय ७१ रुपैयाँ छ । हाल सहकारीमा हाल ४ सय २० जना महिला र ५ सय ३४ जना पुरुष गरी ९ सय ५४ जना शेयर सदस्यहरु रहेका कोषाध्यक्ष खगेन्द्रराज भण्डारीले जानकारी दिनुभयो । सहकारीले दैनिक कारोबार समेत निरन्तर सन्चालन गरिरहेको छ । संस्थाको आर्थिक कारोबार चुस्त राख्न सीसी टिभी क्यामेराको समेत प्रयोग गरिएको छ ।

सहकारीले विभिन्न सामाजिक कार्यहरु समेत गर्दै आएको छ । जिल्लाबासीको वित्तीय शिक्षा क्षमतामा वृद्धि गराई अर्थोपार्जनमा सहयोग पु¥याउन विभिन्न कार्यक्रमहरु गर्दै आएको अध्यक्ष खुलालले बताउनुभयो । हाल सहकारी संस्थामा सात वटा सामुहिक कृषि उपज उत्पादन तथा व्यवसायिक कृषि विकासका लागि समुहहरु सेयर सदस्य रहेका छन् ।

संस्थाले गतवर्षबाट थालेको ‘स्वच्छ म्याङलुङ्ग अभियान’ ले प्रशंसा बटुलेको छ । सहकारीले हरेक घर र चोकमा गमलामा फुल र नजिकै डस्टविन राखेर ‘स्वच्छ म्याङलुङ्ग अभियान’ थालेको थियो । जिल्लाका अन्य संघ संस्था र म्याङलुङ्ग नगरपालिकाले समेत सो कार्यलाई प्रशंसा गर्दै निरन्तरता दिएका छन् । सहकारीले बजारबासी स्वयम्लाई समेत सो कार्यलाई निरन्तरता दिन आग्रह गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया