तेह्रथुम । आगामी २१ मंसिरमा हुने प्रतिनिधि र प्रदेश सभा सदस्यको चुनावका लागि दलहरुले उम्मेदवारी दर्तासँगै चुनावी अभियान लिएर गाउँ पसेका छन् । मतदातालाई आफ्नो पक्षमा लिएर उम्मेदवारलाई विजयी गराउन दलका कार्यकर्ताहरुलाई भ्याई–नभ्याई छ । उनीहरु प्रचार प्रसारका लागि घरदैलोसम्म पुग्न थालिसकेका छन् ।
जिल्लाका मुख्य प्रतिष्पर्धी नेपाली कांग्रेस र बाम–गठबन्धनका उम्मेदवार र जिल्लाका नेताहरु पनि प्रचार प्रसारका लागि गाउँ पसेका छन् । तर गाउँका सर्वसाधारण किसानलाई भने अहिले वर्षभरि खेती गरेर फलाएको धान बाली भित्राउने चटारो छ । यतिबेला जिल्लाभर कृषकलाई धान थन्क्याउने र विभिन्न बाली लगाउने चटारो रहेको आठराई गाउँपालिका–४, इवाका किसान डिल्लीराम विकले बताउनुभयो । ‘चुनाव आयो रे, नेताहरु घर गाउँमा डुल्न थालिसके,’ उहाँ भन्नुहुन्छ, ‘हामीलाई बाली थन्काउने, लगाउने चटारो छ, उनलाई मतदाता आफ्नो पक्षमा पार्ने चटारो ।’
प्रतिनिधि र प्रदेश सभा सदस्यका लागि जिल्लामा २१ मंसिरमा चुनाव हुँदैछ । मतदान गर्ने दिन आउन अब ३० दिन मात्रै बाँकी छ । तर गाउँका किसानलाई चुनावले छोएको छैन । कतिपय किसान खेती समाल्नमै व्यस्त रहेपनि आफ्नो पीडा बुझिदिने नेताले जितोस् भन्ने कामना गरिरहेका छन् । यो सिजनमा जिल्लाका किसान ‘खोल्सीको कालो सुन’ नामले परिचित अलैँची बाली थन्काउन, धान बाली भित्राउन र जौं, गहुँ छर्ने, आलु लगाउने, विभिन्न तरकारी लगाउने काममा व्यस्त छन् ।
चुनाव अघिनै घरको काम सक्ने र मनपर्ने दलका कार्यक्रममा सहभागी हुने धेरै किसानको धोको छ । गत असारमा भएको स्थानीय चुनावमा किसान खेतीपाती छाडेरै भएपनि चुनावमा सक्रिय बनेका थिए । तर अहिले भने किसानले कम चासो लिएका छन् । ‘पार्टीका पछि लागे पेट के ले भर्ने ? फेदाप गाउँपालिका–२ की मालती जोगी भन्नुहुन्छ, ‘मानो फलाएर मुरी भित्राउने यो बेला हाम्लाई चुनावभन्दा खेतीपाती नै प्यारो छ ।’
किसानका लागि मानो खाएर मुरी उत्पादन गरेको अन्नबाली भित्राउने यो बेला अहिले मुख्य समय हो । त्यसैले धेरै मतदाता धान खेतमै व्यस्त छन् । पार्टीहरूले कृषिप्रधान देशको नाम अनुसार किसानका हितमा काम नगरेको उनीहरूको गुनासो छ । त्यसो त दलहरुले काममा लागेका किसानको खेतबारीमै पुगेर पार्टीका बारे प्रचार प्रसार गर्दै मत माग्न थालिसकेका छन् । दलहरुले जिल्लादेखि वडा, टोलस्तरमा समेत प्रचार प्रसार समितिहरु निर्माण गरेर धमाधम चुनाव प्रचार प्रसार थालेका छन् ।
कतिपय कृषकलाई चुनाव के हो ? भन्ने कुरामै जानकारी छैन । गाउँ–गाउँमा मतदाता शिक्षा नपुगेका कारण पनि कृषकहरू रनभुल्ल परेका हुन् । स्थानीय तहमा भोट हालेपछि यति चाँडै मत दिनुपर्दैन भन्ने बुझेकाहरूले प्रतिनिधि र प्रदेशसभा चुनावमा कसरी मतदान गर्ने भन्ने अन्योल देखिन्छ । निर्वाचन आयोगको मतदाता शिक्षा कार्यक्रमको तयारी भएपनि सुरु भइसकेको छैन । एक महिनामात्र बाँकी रहँदा पनि निर्वाचन शिक्षा कार्यक्रम सुरु नभएकाले त्यो प्रभावकारी नहुने निश्चित छ । नमुना मतपत्रसमेत अझै नआउँदा गाउँघरको चुनावी सभामा नमुना मतपत्र लैजान नपाइएको उम्मेदवारहरूले बताएका छन् ।
चुनावका लागि उम्मेदवारी दिएका दलहरुले पार्टीको प्रचार प्रसार कार्यक्रम तीब्र रुपमा अघि बढाएका छन् । बाम–गठबन्धनका लागि नेकपा एमाले र माओवादी केन्द्रको संयुक्त टोलीबाट प्रचार प्रसार सुरु भएको छ । यता नेपाली कांग्रेसले पनि जिल्लाभरि नै कार्यकर्तालाई परिचालित गरेको छ ।
गठबन्धनका दुवै दलका साझा उम्मेदवारलाई जिताउन उत्तिकै जिम्मेवारी रहने बताउँदै केन्द्रीय, जिल्ला तथा स्थानीय तहका नेता–कार्यकर्ता परिचालित छन्् । नेपाली कांग्रेसका नेताहरु पनि गाउँ पसिसकेका छन् ।
स्थानीय चुनावमा दुई नगरपालिका र चार गाउँपालिका रहेको जिल्लाका ५ वटा स्थानीय तहमा नेकपा एमालेले जित निकालेको थियो । बाँकी एक तहमात्रै कांग्रेसले जितेको थियो । तर अहिले कांग्रेसपनि जित आफ्नो पक्षमा निकाल्ने दाउमा छ भने एमाले पुरानै जित दोहो¥याउने दाउमा छ । जिल्लामा ११ राजनीतिक दलले उम्मेद्वारी दिएका छन् । कार्यालयका अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ११ दलको उम्मेदवारी परेको छ भने प्रदेश सभा–१ मा ९ र ‘प्रदेश सभा–२ मा ८ दलको उम्मेदवारी दर्ता भएको छ । सबै उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गरी उम्मेदवारको अन्तिम नामावली प्रकाशन भइसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
प्रतिनिधि सभामा कांग्रेसकी युवा नेतृ तथा भौतिक पुर्वाधार राज्यमन्त्री सीता गुरुङ र वाम–गठबन्धनबाट एमालेका निवर्तमान सांसद भवानीप्रसाद खापुङको प्रतिष्पर्धात्मक उम्मेदवारी छ । यस्तै संघीय समाजवादी फोरम नेपालका तुलसीप्रसाद अधिकारी, नेकपा मालेका डिल्लीबहादुर बुढाथोकी, राप्रपा प्रजातान्त्रिकका गौरीप्रसाद कन्दङवा, संघीय लोकतान्त्रिक राष्ट्रिय मन्चका शंकरमान लिम्बु, मंगोल नेशनल अर्गनाइजेशनका गंगाप्रसाद चोङवाङ, राष्ट्रिय जनमोर्चा पार्टीका हरिलाल अधिकारी, देशभक्त जनगणतान्त्रिक मोर्चाका कालीबहादुर फुदोङ, नयाँ शक्ति पार्टी नेपालका टंकबहादुर भट्टराई र राष्ट्रिय जनमुक्ति पार्टीका सागरनाथ रेग्मीको पनि उम्मेदवारी परेको छ ।
यस्तै प्रदेश सभा–१ मा नेपाली कांग्रेसका गोविन्द ढुंगाना, बाम गठबन्धनकालागि एमालेका जिल्ला अध्यक्ष लक्ष्मण तिवारी, संघीय समाजवादी फोरम नेपालका सुर्य मादेन, नेकपा मालेका माधव प्रसाद खनाल, राप्रपा प्रजातान्त्रिकका धनराज कन्दङवा, संघीय लोकतान्त्रिक राष्ट्रिय मन्चका देउनारायण सम्बाहाम्फे, नयाँ शक्ति पार्टी नेपालका विष्णुप्रसाद दाहाल, मंगोल नेशनल अर्गनाइजेशनका डालेश्वर लिम्बु र राष्ट्रिय जनमुक्ति पार्टी नेपालका बीरबहादुर थापाको उम्मेदवारी छ ।
क्षेत्र नं. २ मा कांग्रेसका विजय सम्बाहाम्फे, बाम गठबन्धनका तेजमान कन्दङवा, संघीय समाजवादी फोरम नेपालका मानध्वज सम्बाहाम्फे, राप्रपा प्रजातान्त्रिकका यशोदा देवी कार्की, संघीय लोकतान्त्रिक राष्ट्रिय मन्चका विष्णुकुमार लिम्बु, नयाँ शक्ति पार्टी नेपालका राजेन्द्र कन्दङवा, मंगोल नेशनल अर्गनाइजेशनका डम्बर लिम्बु र राष्ट्रिय जनमुक्ति पार्टी नेपालका तारादेवी थापाको उम्मेदवारी छ । प्रतिनिधि सभामा एक क्षेत्र रहेको जिल्लाबाट प्रदेश सभा–१ मा म्याङलुङ्ग नगरपालिका, लालीगुराँस नगरपालिका र छथर गाउँपालिका तथा प्रदेश सभा–२ मा फेदाप, मेन्छ्यायेम र आठराई गाउँपालिका पर्दछन् ।
चुनाव चिन्हसहित आचार संहिताबारे जानकारी
मुख्य निर्वाचन अधिकृतको कार्यालयले प्रतिनिधि र प्रदेशसभा सदस्यको चुनावमा उम्मेदवारी दिएकाहरुलाई आ–आफ्नो दलको चुनाव चिन्ह प्रदान गरेको छ । स्वतन्त्र उम्मेदवारी जिल्लाका उम्मेदवारले आ–आफ्नै पार्टीको चुनाव चिन्ह लिएका छन् । सो अवसरमा कार्यालयले उम्मेदवारहरुलाई निर्वाचन आचारसंहिताका विषयमा समेत जानकारी गराएको छ । प्रतिनिधि र प्रदेश सभा दुवैका लागि गरी जम्मा २८ जना उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गरी आचार संहिताबारे समेत जानकारी दिइएको सहायक निर्वाचन अधिकृत जनकप्रसाद घिमिरेले बताउनुभयो । कार्यक्रममा उपस्थित उम्मेदवारहरुलाई आचार संहिता अधिकृत जयप्रकास बस्नेतले आचार संहिता पुर्ण रुपमा पालना गर्न आग्रह गरेका थिए ।