तेह्रथुम, ५ मंसिर । नेपाली कांग्रेसकी केन्द्रिय सदस्य तथा भौतिक पुर्वाधार राज्यमन्त्री सीता गुुरुङले नेपाली कांग्रेसमा जनलहर देखेर प्रतिपक्षीले आक्रमण सुरु गरेको आरोप लगाउनुभएको छ । तेह्रथुमबाट प्रतिनिधि सभामा प्रत्यक्षतर्फ उम्मेदवार रहनुभएकी नेतृ गुरुङले सोमबार लालीगुराँस नगरपालिकाको टुटेमा आयोजित टोलस्तरीय चुनावी सभामा बोल्दै कांग्रेसको जनलहरलाई प्रभावित पार्न प्रतिपक्षीले आक्रमणको प्रयास गरेको बताउनुभएको छ ।

कांग्रेसले चुनावी कार्यक्रमका लागि तयार गरेको कार्यक्रमस्थल लालीगुराँस नगरपालिका–१ स्थित टुटेबजार नजिकै सोमबार विहान शंकास्पद विष्फोटक पदार्थ सहितको व्याग, तार र विस्फोट गराउन प्रयोग हुने ब्याट्री फेला परेको थियो । कांग्रेसको राम्रो पकड सो क्षेत्रमा त्रास फैलाउनका लागि बाम–गठबन्धनले शंकास्पद बस्तुहरु राखेर तर्साउन प्रयास गरेको गुरुङको भनाइ छ ।

उहाँले आम जिल्लाबासी मतदातालाई कसैको दबाब र प्रभावमा नपरी लोकतन्त्रको रक्षा र आर्थिक समृद्धिका लागि एकजुट हुन आव्हान समेत गर्नुभएको छ । राज्यमन्त्री गुरुङले दैनिक तीन वटासम्म चुनावी सभाहरुमा सम्बोधन गरिरहेकी छिन् । जिल्लामा दलहरुले उम्मेदवारी दर्तापछि प्रचार प्रसारलाई तिव्र बनाएका छन् । गुरुङको मुख्य प्रतिष्पर्धीको रुपमा बाम गठबन्धनका उम्मेदवार एमाले नेता भवानीप्रसाद खापुङ पनि चुनावी प्रचार प्रसारमा हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया