तेह्रथुम, ५ मंसिर । निर्वाचन विरोधी गतिविधि हुन नदिन तेह्रथुममा नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका ३ जना नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।
आसन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचनको विरोधमा उत्रिएको विप्लव नेतृत्वको माओवादीले मतदाता र उम्मेदवारहरुलाई प्रभावित पार्न सक्ने सम्भावित जोखिमलाई हेरेर माओवादी कार्यकर्तालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पक्राउ पर्नेमा आठराई गाउँपालिका–६, चुहानडाँडा घर भई हाल म्याङलुङ्ग बस्ने शशी ठटाल, फेदाप गाउँपालिका–१, सिम्लेका रामकृष्ण रिजाल र फेदाप गाउँपालिका–५, इसिवुका गौरीप्रसाद सापकोटा रहेका छन् ।
प्रहरीले उनीहरुलाई जिल्लाका विभिन्न स्थानमा लुकी छिपी बसिरहेको अवस्थामा पक्राउ गरेको हो । उनीहरुलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरी निरीक्षक बासुदेव यादवले बताए । सरकारले निर्वाचन विरोधी गतिविधि हुनसक्ने भन्दै त्यस्तो गतिविधि गर्नसक्ने सबैलाई पक्राउ गरी हिरासतमा लिन निर्देशन गरेको थियो ।