खैरेनी (गुल्मी) । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा गुल्मी क्षेत्र नं १ का प्रतिनिधिसभाका उम्मेद्वार चन्द्र भण्डारीले संविधान बनाएर ३ करोड नेपालीलाई अधिकार सम्पन्न बनाइसकेको कांग्रेसको अबको लक्ष्य विकास र समृद्धि भएको बताउनुभएको छ ।
गुल्मी प्रतिनिधि क्षेत्र नम्बर १ को जोहाङ्ग खैरेनीमा आयोजित चुनावी भेलालाई संबोधन गर्दै प्रतिनिधि सभाका उम्मेदवार चन्द्र भण्डारीले सो कुरा बताउनुभएको हो ।
कार्यक्रमका प्रमुख अतिथि भण्डारीले नेपालमा आजसम्म भएका सबै परिवर्तनको नेतृत्व गरेका कांग्रेसले सबै आन्दोलनबाट प्राप्त उपलब्धिलाई वर्तमान संविधानमा समेटिएको बताउदै अब राजनीतिक परिवर्तनको मिसन पूरा भएकोले कांग्रेस अब आर्थिक परिर्वतनमा लाग्ने बताउनुभयो ।
“३ करोड नेपालीलाई अधिकारसम्पन्न गराउने कांग्रेसका लागि विकास निर्माण र समृद्धिको लक्ष्य हासिल गर्न कुनै समस्या छैन”,नेता भण्डारीले भन्नुभयो ।
उहाँले जङ्गलमा बसेर बम पड्काउने, माओवादीका नेतालाई स्वर्गीय गिरिजाप्रसाद कोइरालाले खोजेर भारतबाट रातारात बालुवाटार भित्राएर शान्ति प्रक्रियामा ल्याएर देशमा शान्ति र स्थायित्व कायम गर्दा ने.क. पा. एमालेले रमिता हेरेर बसेको आरोप समेत लगाउनुभयोे ।
उहाँले पहिलो संविधानसभाबाट चार चार जना कम्युनिष्ट नेता प्रधानमन्त्री हुँदा पनि बन्न नसकेको संविधान जङ्गली हात्ती जस्तो माओवादी र साँढे जस्तो एमालेका बीचमा नेपाली काँग्रेसको कुशल नेतृत्वका कारण सविंधान निमार्ण भएर जारी भएको पनि बताउनुभयो ।
नेता भण्डारीले एमालेले स्थानीय निर्वाचन समेत गर्न नसकेपछि नेपाली काँग्रेस सम्मिलित सरकारले निर्वाचनको मिति घोषणा गरेर कांग्रेसको नेतृत्वमा बनेको सरकारले सो जिम्मेवारी पूरा गरेको बताउनुभयो ।