प्रकाशपुर(सुनसरी) ५ मंसिर । अर्थमन्त्री तथा सुनसरीको क्षेत्र नं.४ बाट प्रतिनिधिसभा सदस्यका लागी नेपाली कांग्रेसका प्रत्यक्षतर्फका उम्मेद्वार ज्ञानेन्द्रबहादुर कार्कीले आफ्नो राजनीतिक कर्मथलोको विकासका लागि सुनसरीबाट चुनाव लडेको बताउनुभएको छ ।
सोमबार सुनसरीको प्रकाशपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
नेपाल सरकारका अर्थमन्त्री तथा नेपाली कांग्रेसका जुझारु नेता कार्कीले आफू प्रकाशपुरको स्थायी बासिन्दा भएको र यो क्षेत्र विकासमा पछाडि परेकोले समग्र क्षेत्रलाई विकसित गराउदै समुन्नतिको मार्गमा लैजाने आकांक्षाले प्रतिनिधिसभाको निर्वाचनमा उम्मेद्वार बनेको दाबी गर्नुभयो ।
उहाँले चुनावपछि जीवनभर यसै क्षेत्रको विकासका लागि काम गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।
उहाँले आफूलाई झूटा आश्वासनको पुलिन्दा बाड्न नजान्ने नेताको रुपमा प्रस्तुत गर्दै भन्नुभयो,“ म जे गर्न सक्छु, त्यतिमात्र बोल्छु र जे बोल्छु त्यो पुर्याएरै छोड्छु।”
उहाँले अन्य क्षेत्रको भन्दा सुनसरीको प्रकाशपुरमा बेरोजगारी रहेको, शिक्षाका लागी उचित ब्यवस्था नभएको र पूर्वाधारको अवस्था पनि कमजोर रहेकोले यसलाई समाधान गर्नका लागी आफू अग्रसर भएको उहाँले दावी गर्नुभयो ।
सुनसरी क्षेत्र नं. ४ बाट आँफुले पूर्ण रुपमा जित्ने बिश्वास ब्यक्त गर्नुभयो ।