झापा, ५  मंसिर । नेपाली काँग्रेसका पूर्व महामन्त्री तथा संघीय संसद झापा क्षेत्र नम्वर ३ का उम्मेद्वार कृष्णप्रसाद सिटौलाले संघीय लोकतान्त्रिक गणतन्त्रका विरोधीलाई मतदान नगर्न मतदातासित आग्रह गर्नुभएको छ ।

चुनावी अभियान अन्र्तगत भद्रपुरको भानुचौकमा आयोजित टोल सभालाई सम्बोधन गर्दै नेता सिटौलाले गणतन्त्रका सपूत सुरज विश्वास र राजन गिरीको रगत सुकी नसकेको अवस्थामा परिवर्तन विरोधी भूमिकामा रहेका राप्रपाका उम्मेद्वारलाई मत नदिन अनुरोध गर्नु भएको हो ।

एमाले र माओवादी केन्द्रका जागरुक कार्यकर्ताले संस्थागत भइ नसकेको संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि आफ्नो उम्मेद्वार नरहेको अवस्थामा सहयात्री दल नेपाली काँग्रेसको उम्मेद्वारलाई मतदान गरी परिवर्तनको रक्षामा लाग्नु पर्ने भन्दै नेता सिटौलाले परिवर्तन विरोधीलाई पाखा लगाउन आग्रह गर्नुभयो ।

हिजो पञ्चायत कालमा काँग्रेस र कम्युनिष्टलाई राष्ट्रघाती भन्दै भाला र खुकुरी हानेर परिवर्तनको बेग रोक्ने भूमिका खेलेका उम्मेद्वारलाई मतदान नगर्न उहाँले अपील गर्नुभयो । परिवर्तनको जनलहर रोकेर परिवर्तन विरोधी पक्षमा लगाइए सहिदको अपमान हुने भन्दै नेता सिटौलाले परिवर्तनका पक्षधर मतदातालाई नेपाली काँग्रेसका उम्मेद्वारलाई मतदान गर्न अनुरोध गर्नुभयो ।

कार्यक्रमा क्षेत्र नं.– ३ प्रदेशसभातर्फ (ख) क्षेत्रका उम्मेद्वार भूमिप्रसाद राजवंशीले प्रदेश सभामा आदिवासी जनजाति समुदायको उपस्थिति दर्शाउन पनि आफ्नो उम्मेद्वारी अनुमोदन हुनुपर्ने तर्क गर्नुभयो ।

सोही क्रममा झापा क्षेत्र नम्बर–२ प्रदेश क मा नेपाली कांग्रेसबाट प्रत्यक्षतर्फका  उम्मेद्वार लक्ष्मण खड्का, समानुपातिक उम्मेद्वार सिता पौडेलसहितको टोलीले सोमबार कन्काई नगरपालिका वार्ड नं.–९ अन्तरगतका टोलमा घरदैलो तथा कोणसभा सम्पन्न गरेको छ । घरदैलो तथा कोणसभा कार्यक्रम अन्तरगत घैलाडुब्बा बजारमा आयोजित कोणसभालाई प्रत्यक्षतर्फका उम्मेद्वार खड्का, समानुपातिक उम्मेद्वार  पौडेल लगायतले बोल्नु भएको थियो ।

यसैगरी नेपाली कांग्रेस झापा क्षेत्र नम्बर ५ ले आगामी निर्वाचनमा आफ्ना उम्मेद्वारहरुलाई जिताउन आज पनि घर दैलो तथा चुनावी कोणसभाका कार्यक्रमहरुलाई निरन्तरता दिएको छ । क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा र प्रदेश सभामा उम्मेद्वारी दिएका कांग्रेसका उम्मेद्वारहरुले मतदाताहरुको घर घरमा पुगेर मत मागेका हुन् ।

प्रतिनिधिसभा सदस्यका उम्मेद्वार खगेन्द्र पाण्डव अधिकारी र प्रदेश सभा (क) का उम्मेद्वार अनिलकृष्ण प्रसाईंले आज गौरादह नगरपालिका तथा गौरिगञ्ज गाउँपालिकाका बिभिन्न ठाउँमा पुगेर मतदाताहरु समक्ष भोट माग्नुभएको थियो ।

गौरादह नगरपालीका वडा नम्बर ५ स्थित दामुना बजार, गौरिगञ्ज गाउँपालिकाको गौरिगञ्ज बजार क्षेत्रमा भएका बिभिन्न कोणसभामा बोल्दै प्रतिनिधिसभा उम्मेद्वार अधिकारीले यस क्षेत्र बाट पटक पटक एमालेलाई जिताउँदा पनि नागरिकहरुको समस्या जस्ताको तस्तै रहेकोले समस्या समाधान र गाउँको बिकासको लागि आगामी निर्वाचनमा कांग्रेसलाई भोट दिनु पर्ने बताउनु भयो ।

यता क्षेत्र नम्बर ५ अन्तर्गत प्रदेश (ख) का उम्मेद्वार राजनबहादुर ढुंगानाले पनि कमल गाउँपालिकाका बिभिन्न ठाउँमा पुगेर मतदाताहरु समक्ष मत माग्नु भएको छ ।

यसरी नै क्षेत्र नम्वर ४को कन्काइ नगरपालिका  ३ मा नेपाली काङ्ग्रेसको घरदैलो र चुनावी सभा सम्पन्न भएको छ ।

तपाईको प्रतिक्रिया