भैरहवा, ५ मंसिर । आगामी मंसिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनको लागि रुपन्देही जिल्लामा लोकतान्त्रिक गठबन्धनले आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ ।
गठबन्धनले सोमबार भैरहवामा पत्रकार संयुक्त पत्रकार सम्मेलनको आयोजना गरी आफ्नो घोषणा पत्र सार्वजनिक गरेको हो ।
घोषणापत्रमा कम्युनिष्टहरुको गठबन्धनले मुलुकको राष्ट्रिय राजनीतिलाई नै अन्यौलतर्फ धकेलिरहेको र लोकतान्त्रिक शक्तिहरुको बीचमा सहमति,सहकार्य र एकताको वातावरण कमजोर बनेमा ७ दशकको संघर्षबाट प्राप्त उपलब्धिहरुलाई संस्थागत गरेको देशको लोकतान्त्रिक संविधान कार्यान्वयन हुने विषयमा समेत शंका उत्पन्न हुने अवस्था आउने बताएको छ ।
उसले ५ नम्बर प्रदेशको राजधानी रुपन्देहीलाई बनाउने देखि बेलहिया–कोरला सीमा नाकासम्म आवातजवात गर्ने सडकको निर्माण गर्न विशेष पहल गरिने सम्मको विकास कार्यक्रमलाई घोषणा पत्रमा समेटेको छ ।
त्यस्तै अगामी ३ वर्ष भित्रमा यस क्षेत्रको शिक्षा दरलाई वर्तमान ७४ प्रतिशत बाट ९० प्रतिशत पुर्याउने, १२ कक्षासम्म निःशुल्क अध्ययनको सुविधा, मोतिपुरमा शिक्षण अस्पताल स्थापना गर्ने, ३ वर्षमा यस क्षेत्रमा क्यान्सर डिटेक्सन सेन्टरको स्थापना गरिने, भिम अस्पतालाई स्तरोन्नती गरी ५० शैयाको बनाउनुका साथै २५÷२५ शैयाको नयाँ अस्पतालको व्यवस्था गरिने कार्यक्रम पनि रुपन्देही ३ का लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुले सार्वजनिक गरेका छन् ।
यस्तै मंगलापुर– रगरगंज– हुदै भैरहवा विमानस्थल पुग्ने सडकको निर्माण गर्ने, निम्नदरमा मलखादको व्यवस्था गर्ने तथा कृषकको जीवन उकास्ने नीति अपनाइने, गुनासो सुन्नको लागि निःशुल्क टोल फ्रि नम्बरको स्थापना गर्ने, हरेक घरमा इन्टरनेटको सेवा सुविधा इ रिडिङ को सुविधा तथा विभिन्न सीपमूलक तालिमको व्यवस्था गर्ने, भैरहवा विमानस्थलको निर्माणकार्यमा भइरहेको ढिला सुस्तीका कारण तथा कारकहरुको पहिचान गरी त्यस्ता बाधाहरुलाई हटाई छिटो छरितो कार्यहरु गराइने, लुम्बिनीसम्म पुग्ने सम्पुर्ण बाटोलाई सुन्दीकरण तथा हरभरा बनाइने, प्रत्येक वडामा एक व्यक्ति एक रुखको अभियान स्वरुप हरियाली वातावरण बनाउन पहल गर्ने लगायतका विषय पनि सार्वजनिक गरिएको घोषणा पत्रमा उल्लेख गरिएकोे छ ।
पत्रकार सम्मेलनमा लोकतान्त्रिक गठबन्धनका तर्फबाट रुपन्देही क्षेत्र नम्बर ३ को प्रतिनिधीसभा सदस्यका उम्मेदवार दीपक बोहराले बिकास निर्माण तथा संविधानको कार्यान्वयन लोकतान्त्रिक गठबन्धनको जितको मूख्य आधार रहेको बताउनु भयो ।
साविकको रुपन्देही क्षेत्र नम्बर २ मा आफुले र क्षेत्र नम्बर ३ मा बालकृष्ण खाँणले गरेको बिकास आफ्नो जितको अर्को प्रमुख कारण रहेको बोहोराले बताउनु भयो ।