वीरगन्ज, ५ मंसिर । पर्सा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा नेपाली काँग्रेसका उम्मेदवार अनिल रुङ्गटाले मुलुकमा शहिदको खेति छोडेर आर्थिक विकास र समृद्धिको राजनीतिक अभियानमा सरिक हुन मधेशका राजनीतिक दल र मधेसका मतदातालाई अनुरोध गर्नुभएको छ ।
नेपाली काँग्रेस पर्साले सोमबार वीरगन्ज महानगरपालिकाको वडा नम्बर १६ नगवामा आयोजना गरेको चुनावी सभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ उद्योगपति एवम् पूर्व सांसद रुङ्गटाले मधेश आन्दोलनमा शहादत प्राप्त गरेका सपूतहरुको शहादतलाई भर्या¨ बनाएर सम्पत्ति जोड्नेहरुलाई जनताले चिनिसकेको बताउनु भयो ।
उहाँले धन आर्जनका लागि केही नेताहरु मधेस आन्दोलनलाई दुरुपयोग गरेको कारण ६ महिने मधेस आन्दोलन उपलब्धी विहिन भएको र काँग्रेसले संविधान संशोधन गरेपछि मात्र मधेसी जनताले थोरै भएपनि अधिकारको अनुभुति गर्न पाएको दावी गर्नु भयो ।
जनतालाई अधिकार सम्पन्न गर्ने र लोकतान्त्रिक वातावरणमा मुलुकको विकास निर्माणलाई अगाडि बढाउने ध्येयले ७० बर्ष संघर्ष गरी लोकतान्त्रिक पद्धति स्थापना गर्ने काँग्रेसलाई रुख चिन्हमा छाप लगाएर अत्यधिक मतले विजयी बनाउन पनि उहाँले मतदातालाई अपिल गर्नुभयो ।
कार्यक्रममा नेकपा एमाले, संघीय समाजवादी फोरम नेपाल, राष्ट्रिय जनता पार्टी नेपाल, माओवादी केन्द्र लगायत विभिन्न पार्टी परित्याग गरेका २ सय भन्दाबढी कार्यकर्ताहरुलाई नेपाली काँग्रेस पर्साका जिल्ला सभापति अजय कुमार द्विवेदी, क्षेत्र नम्बर १ बाट सांसद पदका उम्मेदवार अनिल रुङ्गटा, क्षेत्र नम्बर १ को (ख)बाट प्रदेश सभा पदका उम्मेदवार विजय सर्राफ, वीरगन्ज महानगरपािलकाका उपप्रमुख शान्ति कार्की लगायतले अविरको टिका र फूलको माला लगाई पार्टीमा स्वागत गर्नुभएको थियो ।
कार्यक्रममा नेपाली काँग्रेस पार्टीका सक्रिय सदस्य तथा विभिन्न भातृ तथा शुभेच्छुक संस्थाका नेता प्रतिनिधीको उपस्थिती रहेको थियो ।